एनभीए भलिबल च्याम्पियनसिप : रूकुम पश्चिम र कीर्तिपुर भलिबल क्लबले सहभागिता जनाउने

पुस ७, २०८२ |खेल ब्युरो
 एनभीए भलिबल च्याम्पियनसिप : रूकुम पश्चिम र कीर्तिपुर भलिबल क्लबले सहभागिता जनाउने

काठमाडौं । यही पुस ११ गतेबाट सुरू हुने नवौं एनभीए भलिबल च्याम्पियनसिपमा कर्णाली प्रदेशको रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र कीर्तिपुर भलिबल क्लबले पहिलो पटक सहभागिता जनाउने भएका छन्।

अको अर्को हप्ता सुरू हुने च्याम्पियनसिपमा पुरूषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने आयोजक नेपाल भलिबल संघले जानकारी दिएको हो। विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, एपीएफ र पुलिसले महिला र पुरूष दुबै टोली सहभागी गराउने छन् । 

त्यसैगरी महिलातर्फको बाँकी टिममा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश रहेका छन् । पुरूषतर्फ सहभागी हुने अन्य क्लबहरूमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब र खिल्जी युवा क्लब रहेका छन्। 

पुस १९ गतेसम्म त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा विभागीय टिमबाहेकले तीन विदेशी खेलाडी खेलाउन पाउनेछन् । च्याम्पियनसिपबाट पुरूषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगका लागि छनोट हुनेछन् । 

रूकुम पश्चिमले पाकिस्तानका तीन खेलाडीलाई अनुबन्ध गरेको छ। उसले मजर अलि, वालिद खान र अहमदलाई भित्र्याउने भएको हो । लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन् । यसअघि घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको गण्डकीले टिम छनोटमा असन्तुष्टि जनाउँदै सहभागी नहुने भएको हो।