
काठमाडौं । आईसीसी टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ-क्यानले २४ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको जानकारी दिएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीको आयोजनामा सन् २०२६ को फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा सञ्चालन हुने विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको हो।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी, ईशान पाण्डे र शेर मल्ल नेपाली टिमको पहिलो चरणमा स्थान बनाउन सफल भएका छन्। विनोद लामो समयपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका हुन्। क्यानले नेपाली टिमको प्रशिक्षण यही पुष ७ गतेदेखि सञ्चालन गर्ने जानकारीसमेत दिएको छ।
रोहित पौडेलको कप्तानीमा रहने टिमका नियमित सदस्यहरू कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले लगातार स्थान बनाएका छन्। त्यसैगरी, ललित राजवंशी, लोकेश बम, आरिफ सेख, आदिल अन्सारी, साहब आलम, भीम सार्की, अविनाश बोहरा, बसिर अहमद रहेका छन्।
यसैगरी युवा खेलाडीहरू रूपेशकुमार सिंह र नन्दन यादवले पनि प्रारम्भिक चरणमा स्थान बनाएका छन्। विश्वकपको समूह 'सी'मा रहेको नेपालसँग बंगलादेश, वेस्ट इन्डिज, इंग्ल्यान्ड र इटाली रहेका छन्। नेपालले पहिलो पटक इटाली र इंग्ल्यान्डसँग यही विश्वकपमा खेल्नेछ।