
काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको भन्दै निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ-एन्फालाई निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा जारी गरिएको पत्रमा बुधबारका मितिदेखि सबै निर्वाचन कार्यक्रम रोक्न र कार्यान्वयनको जानकारी छिट्टै आयोगलाई बुझाउन भनिएको छ । अन्यथा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
उच्च अदालत पाटनले माघ २७ मा अन्तरिम आदेश खारेज गरेपछि एन्फा निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । सोही आधारमा 'सी' र 'बी' डिभिजन क्लब तथा कोशी र गण्डकी प्रदेशका प्रतिनिधि चयन भइसकेका थिए । तर एन्फा केन्द्रीय सदस्य रूपेश अधिकारीले फागुन ५ मा आयोगमा निवेदन दिएपछि निर्वाचन रोक्न निर्देशन दिइएको हो ।
योसँगै फागुन २७ मा तय गरिएको साधारण सभा तथा निर्वाचन प्रभावित हुने भएको छ । एन्फा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङसँग दीर्घबहादुर केसी प्रतिस्पर्धामा छन् । साथै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र केन्द्रीय सदस्य पदमा पनि उल्लेख्य मनोनयन दर्ता भएको छ ।