
काठमाडौं । नामिबियाविरूद्ध प्रभावशाली जित हात पार्दै पाकिस्तान आईसीसी पुरूष टी-२० विश्वकपको सुपर ८ प्रवेश गरेको छ ।
योसँगै विश्वकपको सुपर ८ समीकरणसमेत पूरा भएको छ । समूह 'ए'अन्तर्गत बुधबार सम्पन्न खेलमा पाकिस्तानले नामिबियालाई १ सय २ रनको विशाल अन्तरले पराजित गरेको हो । कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो ।
सइम अयुब १४ तथा कप्तान सलमान अली आगा ३८ रनमा बाहिरिए पनि ओपनर साहिबजादा फरहानले ५८ बलमा शतक प्रहार गरेपछि पाकिस्तानले नामिबियालाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । फरहानलाई शादाब खानले २२ बलमा ३६ रन बनाउँदै राम्रो साथ दिएका थिए ।
नामिबियाका लागि ज्याक ब्रासेलले २ तथा जेरार्ड एरास्मसले एक विकेट लिए । जवाफमा दुई सय रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमै अलआउट भयो । नामिबियाविरूद्ध पाकिस्तानका स्पिनरहरू प्रभावशाली देखिए । उस्मान तारिकले १६ रन खर्च गरेर ४ विकेट लिए भने शादाब खानले ३ विकेट हात पारे ।
योसँगै पाकिस्तान सुपर ८ पुग्ने अन्तिम टोली बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि सपुर ८ को समूह एकमा भारत, जिम्बाब्वे, दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा समूह दूईमा पाकिस्तान न्युजिल्यान्ड, इङ्ल्यान्ड र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकपको ‘डेड रबर’ खेलमा अहिले भारत र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै छन् । आईसीसी पुरूष टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र म्याक्स टुबाट भइरहेको छ ।