
काठमाडौं । फिफा विश्वकप २०२६ का लागि पहिलो चरणको टिकटहरू खुल्दा ५० लाखभन्दा बढी आवेदन परिसकेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस प्रतियोगिताका लागि २ सय भन्दा बढी देशका समर्थकहरूबाट टिकटको माग आएको फिफाले जनाएको छ ।
टिकट मूल्य निकै महङ्गो भएको भन्दै तीव्र आलोचना समेत भइरहेको छ । समूह चरणका खेलहरूको टिकट मूल्य कतार विश्वकप २०२२ को तुलनामा तीन गुणासम्म महङ्गो बनाइएको छ । फाइनल खेलको सबैभन्दा सस्तो टिकटको मूल्य करिब ५ लाख २४ हजार रुपैयाँ तोकिएको छ । जुन अघिल्लो विश्वकपको फाइनलभन्दा झण्डै सात गुणा बढी हो ।
फिफाले सार्वजनिक गरेको मूल्य संरचनाअनुसार समूह चरणका टिकटहरूको मूल्य करिब ३३ हजार, ६२ हजार र ८८ हजार रुपैयाँ रहेको छ । क्वार्टरफाइनल खेलका टिकटहरू क्रमशः करिब ८५ हजार , १ लाख २७ हजार र १ लाख ८० हजार रुपैयाँमा उपलब्ध छन् । सेमिफाइनल खेलका टिकटहरूको मूल्य करिब १ लाख १५ हजार, ३ लाख ५ हजार र ३ लाख ९७ हजार रुपैयाँ तोकिएको छ । फाइनल खेलको सबैभन्दा सस्तो टिकटको मूल्य नै करिब ५ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
समर्थकहरूका लागि बालबालिका वा अन्य कुनै वर्गलाई लक्षित छुट व्यवस्था नराखिएको फिफाले जनाएको छ । सबैभन्दा सस्तो मानिएको सपोर्टर भ्यालु श्रेणीका टिकटहरू पनि सीमित मात्रामा उपलब्ध गराइएका छन् ।
यदि कुनै समर्थकले आफ्नो टोलीका समूह चरणदेखि फाइनलसम्मका आठै खेल हेर्न चाहेमा सबैभन्दा सस्तो श्रेणीमा पनि करिब ८ लाख ७८ हजार रुपैयाँ खर्चिनुपर्ने देखिन्छ । मध्यम श्रेणीमा यो खर्च करिब १४ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । उच्च श्रेणीका टिकट रोजेमा कुल खर्च २० लाख ७६ हजार रुपैयाँ नाघ्नेछ ।
तुलनात्मकरूपमा, कतार विश्वकप २०२२ मा सात खेल हेर्न समर्थकले क्रमशः करिब २ लाख ४६ हजार, ४ लाख ४४ हजार वा ६ लाख ५७ हजार रुपैयाँ खर्च गरे पुग्थ्यो ।
फिफाका अनुसार सबैभन्दा बढी टिकट माग तीन आयोजक देशबाट आएको छ । त्यसपछि क्रमशः कोलम्बिया, इङ्ल्यान्ड, इक्वेडर, ब्राजिल, अर्जेन्टिना, स्कटल्यान्ड, जर्मनी, अष्ट्रेलिया, फ्रान्स र पानामा समर्थकहरू अग्रस्थानमा छन् ।
४८ राष्ट्र सहभागी हुने २०२६ विश्वकप जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । कुनै एक परिवारले प्रति खेल अधिकतम चार टिकट र प्रतियोगिताभरि कुल ४० टिकटसम्म खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।