दोस्रो संस्करणको एनपीएलको ट्रफी कस्ले उठाउला ?

मंसिर २६, २०८२ |सुवास रोकाया
दोस्रो संस्करणको एनपीएलको ट्रफी कस्ले उठाउला ?

काठमाडौं । फेस्टिबल अफ हिमालयाज नेपाल प्रिमियर लिग-एनपीएल २०२५ ले शनिबार च्याम्पियन पाउँदैछ । 

उपाधिको यो अन्तिम प्रतिस्पर्धालाई विशेष बनाइदिएको छ, राष्ट्रिय क्रिकेट टिमका कप्तान र उपकप्तानको प्रत्यक्ष भिडन्तले । एकातिर लगातार प्रभाव जमाउँदै आएको सुदूरपश्चिम रोयल्स छ भने अर्कातिर पुनरागमनको कथाले प्रेरित लुम्बिनी लायन्स । 

यसकारण पनि फाइनलका सबै टिकट सोल्ड-आउट भइसकेका छन् । गतवर्ष जनकपुरले मधेश भरी विजय-र्‍याली निकालेको दृश्य स्मरणीय रहँदा, यसपटक ट्रफी कुन प्रदेशमा जाने हो ? उत्सुकता चुलिएको छ । दोस्रो संस्करणको एनपीएलका ३२ मध्ये ३१ खेल सकिँदा अब क्यापासीटी क्राउडसहितको टीयू क्रिकेट मैदान उपाधि भिडन्तका लागि तम्तयार छ । 

साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स शनिबार च्याम्पियन बन्ने लक्ष्य पुरा गर्न आमनेसामने हुँदैछन् । सुदूरपश्चिमको यात्रा यसपटक पनि निकै सुदृढ रह्याे । ७ मध्ये ६ खेल जित्दै १२ अंकसहित उ तालिकाको शिखरमा रहरे पहिलो क्वाफिफायर्समा पुग्यो । 

लगातार ६ खेलको अपराजित दौड विराटनगरले अन्तिम लिग खेलमा थामे पनि त्यो हारले रोयल्सको लयमा खासै असर पार्न सकेन । पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै रोयल्सले फाइनल स्थान पक्का गर्यो । गत वर्ष पनि लिग चरणमा ६ जित दर्ता गर्दै फाइनल पुगेको यो टोली जनकपुरसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो । 

यही अधुरो कथालाई पूरा गर्ने दृढ इच्छाशक्ति यसपटक दीपेन्द्रसिंह ऐरीको टोलीमा देखिन्छ । रोयल्सको ब्याटिङ पक्षमा अनुभवी विनोद भण्डारी फेरि पनि मुख्य स्तम्भ बनेका छन् । ८ खेलमा २ सय ६४ रन जोड्दै उनी शीर्ष रन-कर्ताको दोस्रो स्थानमा छन् । आरिफ शेख र दिपेन्द्रले पनि राम्रो योगदान दिइ रहँदा सुदूरको सानमा इसान पाण्डे र भीम सार्कीले पनि साथ दिएका छन् ।

बलिङमा अविनाश बोहरा सिजनकै चम्किलो पात्र बनेका छन । ८ खेलमा १६ विकेट निकाल्दै उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हर्मित सिंहका १२ विकेट र स्कट कुगेलाइनका १० विकेटले रोयल्सको आक्रमणलाई पूर्णता दिएको छ ।

लुम्बिनी लायन्सको कथा भने बिल्कुलै भिन्न छ । उतार-चढावले भरिएको, तर अन्ततः प्रेरणादायी । अक्सनपछि विश्लेषकहरूले कमजोर ठानेको यो टोलीले जितसागै सिजनको सुरूवात गर्‍यो । तर त्यसपछि लगातार ३ हारले उसलाई प्रतियोगिताबाट लगभग बाहिरै धकेलेको थियो । 

समर्थकको बेचैनीबीच लिगको १७औँ खेलमा पोखरालाई हराउँदै लुम्बिनीले पुनरागमनको नयाँ अध्याय खोल्यो । त्यसपछि विराटनगर र जनकपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्‍यो । एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउादै दोस्रो क्वालिफायरमा पुग्यो । 

जहाँ बलियो मानिरहेको विराटनगरलाई लुम्बिनीले ९४ रनमै समेट्यो र ४० रनको जित निकाल्यो । लगातार पाँच जित जितसहित फाइनलमा प्रवेश, यो लुम्बिनीको पुनरागमनको अविश्वशनीय यात्रा बन्यो । यो उडानका केन्द्रमा थियो - लुम्बिनीको धारिलो स्पिन आक्रमण । 

सेर मल्ल, कप्तान रोहित पौडेल, तिलक भण्डारी र अभिषेक गौतमको समन्वयले टोलीलाई बारम्बार जितको ढोका खोलिदियो । पेस बलिङमा १२ विकेट निकाल्दै ट्रम्पलम्यान प्रभावशाली बने । जेजे स्मितले नियमित समर्थन गरेपछि टिमलाई गुल्बदीन नइबको अभाव खड्किएन ।

व्याटिङतर्फ केही ढिलो भए पनि डार्सी सर्टले समातेको लयले टिमलाई आत्मविश्वास दिलायो । कमजोर ओपनिङलाई मध्यक्रममा रोहित र डिक्वालाको साझेदारीले धैर्यतापूर्वक अघि बढायो । अब फाइनलमा सन्दीप जोराबाट लुम्बिनीले ठूलो आशा गरेको छ ।

निरन्तरता र स्थिरतालाई हातमा राखेको सुदूरपश्चिम तथा पुनरागमन र जुझारूपनले चम्किएको लुम्बिनी लायन्स । दोस्रो संस्करणको एनपीएलको ट्रफी कस्ले उठाउला ?


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।