एनपीएल : विराटनगर क्वालिफायरमा प्रवेश

मंसिर २०, २०८२ |खेल ब्युरो
एनपीएल : विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग-एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशसँग खेल्ने भएको छ। 

टीयू क्रिकेट रंगशालामा शनिबारको पहिलो खेलमा सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै जित हाासिल गरेको। उसले सहजै लक्ष्य पुरा गरेपछि अंकतालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायरमा पुगेको हो।

विराटनगर किंग्सले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएपछि रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनायो। ओपनर विनोद भण्डारी र जोस ब्राउनले २५ रनको ओपनिङ साझेदारी गरे। विनोदलाई १३ बलमा १५ रन बनाएको अवस्थामा बसिर अहमदले बोल्ड गरे। 

त्यसैगरी ब्राउनले २५ बलमा २४ रनको योगदान गरेका थिए। सन्दिप लामिछानेले ब्राउनलाई साम हेजलेटबाट क्याचआउट गराएपछि सुदूरले दुई विकेट गुमाउँदा ४२ रन बनाएको थियो। त्यसपछि इशान पाण्डे र आरिफ शेखले ७२ रनको अत्यावश्यक पार्टनरसिप गरेका थिए। 

सन्दीपले ३८ रन बनाएको अवस्थामा इशानलाई क्याचआउट गराएर यो साझेदारी तोडेका हुन्। उनले खेलमा दुई चौका र दुई छक्का प्रहार गरे। हरमित सिंह भने गोल्डेन डक भए। दिपेन्द्र सिंह ऐरीलाई प्रतिसले २०औं ओभरको पहिलो बलमा क्याचआउट गराए। अन्तिम ओभर बलिङ गर्न आएका प्रतिसले दिपकलाई अन्तिम बलमा आउट गराएका थिए। ३२ बलमा ४५ रनको उत्कृष्ट पारी खेलेका आरिफ शेख खेलमा अविजित रहे।

शनिबारको खेलमा ४ ओभर बलिङ गर्दै तीन विकेट लिएका सन्दीप जारी प्रतियोगिताकै सर्वाधिक विकेट लिने एक्ला खेलाडी बनेका छन्। उनले सात खेलमा १५ विकेट लिइसकेका छन्। प्रतिसले एक ओभर मात्रै बलिङ गरेर २ विकेट हात पारे। जवाफमा विराटनरले सुरूआताबाटै आक्रामक पारी खेल्यो। 

यदी एक सय ४८ रनको लक्ष्य १३ ओभर ५ बलभित्र पुरा गरे क्वालिफायरमा पुग्ने भएको कारण उसले सुरूआतबाटै ठुलो जितको अपेक्षासहित खेलेको हो। ओपनर फाफ डु प्लेसीले साम हेजलेटसँग ९५ रनको विस्फोटक साझेदारी गरे। हिक्मत महरा र दिपेन्द्र सिंह ऐरीको ओभरमा उल्लेख्य रन जोडेका उनले १९ बलमा नै अर्धशतक पुरा गरे। 

उनले भीम सार्कीले सबैभन्दा कम बलमा बनाएको अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका छन्। त्यसैगरी, साम हेजलेटले पनि २६ बलमा ५१ रन बनाएर। उनलाई हरमित सिंहले क्याचआउट गराएका थिए। ८ ओभर दुई बलमा दोस्रो विकेट गुमाउँदा विराटनगरले एक सय ११ रन बनाइसकेको थियो। तर मार्टिन गप्टिल ९ बलमा २२ रन बनाएर रनआउट भए। 

बसिर अहमदलाई अभिनाष बोहराले ८ रनमा नै बोल्ड गरे। अन्तिममा प्रतिस जिसीले लगातार दुई छक्का प्रहार गरेर विराटनगरलाई १३ ओभर नपुग्दै जित दिलाएका थिए। यससँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ। रोयल्सका अभिनाषले २ र हरमित सिंहले एक विकेट लिए पनि सहज जित निकाल्नबाट विराटनगरलाई रोक्न सकेनन्। 

अब यी दुई टिमबीचको पहिलो क्वालिफायर खेल आगामी मंगलबार हुनेछ। बुधबार हुने इलिमिनेटरमा भने काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्नेछ।