
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ अन्तर्गत आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि यो अन्तिम लिग-म्याच हो । प्लेअफ दौडबाट बाहिरिएका दुवै टोली जितसहित लिग समाप्त गर्ने लक्ष्यमा हुनेछन् । गत सिजन चितवनले एलिमिनेटर खेलेको थियो भने पोखरा दुवै सिजनसम्म प्लेअफमा पुग्न नसक्ने एक मात्र टोली बनेको छ ।
गए राति लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई हराएपछि डिफेन्डिङ च्याम्पियन जनकपुरसहित चितवन र पोखराका लागि प्लेअफको ढोका बन्द भएको हो ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज सिजनभर अस्थिर देखिएको थियो । डेविड मलान, सैफ जैब र रवि बोपाराजस्ता नाम चलेका खेलाडीहरू हुँदाहुँदै पनि टिमले मध्यम स्कोर पार गर्न संघर्ष गरिरहेको थियो ।
बलिङतर्फ रञ्जित कुमारले निरन्तरता देखाइरहेका छन् । तर अन्य बलरहरू लयमा छैनन् ।
पोखरा एभेन्जर्सको अवस्था पनि उस्तै छ। टिम धेरै हदसम्म ओपनर एडम रोसिङ्टनको प्रदर्शनमा निर्भर देखिएको छ । कप्तान कुशल भुर्तेलको प्रदर्शन औशत मात्र रहृयो ।
६ खेलमा २-२ जित हातपारेका पोखरा र चितवन क्रमस पाँचौं र छौंटौं स्थानमा छन् । यो खेल जित्ने टोलीलेपाँचौं स्थानमा रहेर प्रतियोगिता समाप्त गर्नेछ ।