
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगिताको प्लेअफ समीकरण पूरा भए पनि पहिलो क्वालिफायर्समा स्थान बनाउन विराटनगरलाई आज जित आवश्यक छ । राम्रो नेट रनसहित जित हात पार्नसके विराटनगरले पहिलो क्वाफिफायर्समा फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँगै प्रतिस्पर्धा गर्नेछ । अपराजित सुदूरपश्चिम यस अघि नै पहिलो क्वालिफायर्समा प्रवेश गरिसकेको छ । सुदूर लिग चरणमा अपराजित यात्रा कायम गर्ने लक्ष्यमा हुनेछ भने विराटनगर सुदूरको विजयी यात्रामा विराम लगाउँदै पहिलो क्वालिफायर्समा पुग्ने योजनामा हुनेछ । आज विराटनगर पराजित भए काठमाण्डू गोर्खाज पहिलो क्वालिफायर्समा पुग्नेछ ।
सुदूरपश्चिम रोयल्सले पछिल्लो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै आफ्नो विजयी अभियान थप बलियो बनाएको थियो । टिमका लागी विनोद भण्डारीले हालसम्म १ सय ८६ रन बनाएका छन् भने बलिङतर्फ अभिनाश बोहराले १२ विकेट लिएका छन् ।
हाल सम्म सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको छ। क्रिस लिन र विनोद भण्डारी राम्रो लयमा छन् भने कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ, ब्याटिङ र फिल्डिङमा सानदार योगदान दिइरहेका छन् ।
विराटनगर आफ्नो पछिल्लो खेलमा लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित भएको थियो ।
आजको खेलमा जर्ज मुन्से रफाफ डु प्लेसि चल्नु आवश्यक छ भने मार्टिन गप्टिल पनि फिट हुने अपेक्षा गरिएको छ ।लोकेश बम र साम हेज्लेटले पनि योगदान दिनुपर्नेछ । बसिर अहमद उत्कृष्ट फर्ममा छन् । उनले टिमकालागि १ सय ६८ रन बनाएका छन् । कप्तानसन्दीप लामिछाने १२ विकेटसहित प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । विराटनगर किंग्स ६ खेलमा ४जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ । ६ मध्ये ६ खेल नै जितेको सुदूरपश्चिम शीर्ष स्थानमा छ ।