साफ महिला क्लब च्याम्पियनसिप : कराँची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरीमा

दुवै टोलीले बाँडे एक-एक अंक
मंसिर १९, २०८२ |खेल ब्युरो
साफ महिला क्लब च्याम्पियनसिप : कराँची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरीमा

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा कराँची सिटीले भुटानको ट्रान्सपोर्ट युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेको छ।

दशरथ रंगशालामा शुक्रबार सुरू भएको च्याम्पियनसिपमा दुवै टोलीले निर्धारित ९० मिनेटसम्म पनि गोल गर्न सकेनन्। खेलमा भुटानी टोलीले दबाब बनाउँदै गोलका धेरै अवसर सिर्जना गरेको थियो। खेलको नवौं मिनेटमा पेमा छुदेनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो। 

३१औं मिनेटमा कराँचीकी मयस जैदले २५ यार्डबाट गरेको सानदार प्रहार गोलकिपर संगीता मगरले अघि बढेर मुस्किलले बचाएकी थिइन्। त्यसपछि पाएको कर्नरमा सुहा हिरानीको प्रहारपछि शुकमाया घले र संगीताले क्लियर गर्न नसक्दा प्राप्त अवसरलाई पनि कराँचीका खेलाडीले सदुपयोग गर्न सकेनन्। 

यससँगै पहिलो हाफ गोलरहीत बराबरी भएको थियो । दोस्रो हाफमा पनि दुवै टिमले यस्ता अवसर खेर फालेका थिए। खेलभरि भुटानले ८ सट प्रहार गर्यो भने कराँचीले विपक्षीको पोस्टतर्फ तीन प्रहार गरेको थियो। ५३ प्रतिशत बल नियन्त्रण गर्न सफल रहे पनि ट्रान्सपोर्ट युनाइटेडले खेल आफ्नो पक्षमा पार्न सकेन।