एनपीएल : आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

मंसिर १७, २०८२ |खेल ब्युरो
एनपीएल : आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ मा को २२औं खेलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । 

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे सुरू हुनेछ । विराटनगर ५ खेलमा ४ जितसहित पहिलो क्वालिफायर्सको दौडमा छ भने लुम्बिनी प्लेअफ पुग्ने लक्ष्यमा छ । विराटनगर बुधबारको खेल जित्दै प्लेअफमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ । लुम्बिनीलाई अघिल्लो चरणमा पुग्न जित्नै पर्ने दबाब छ । 

बुधबार पराजित भए लुम्बिनीको प्लेअफ पुग्ने झिनो गणितीय सम्भावना मात्र जीवित रहने छ । यद्यपि दुवै टिमले पछिल्लो खेल जितेकाले आत्मबल उच्च छ र भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । गत सिजन लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी रहँदै ८ विकेट गुमाएर पुरा गर्यो । 

दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु-प्लेसीले बुधबार विराटनगरबाट खेल्ने छन् भने मार्टिन गप्टिल समेत मैदानमा फर्किने सम्भावना छ । चितवनलाई पराजित गर्दै विजयी सुरूवात गरेको लुम्बिनीले कर्णाली, काठमान्डु र सुदूरपश्चिमसँग लगातार हार बेहोरेको थियो । तर पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदै महत्वपूर्ण पुनरागमन गरेको छ । 

उसका लागि कप्तान रोहित पौडेलले कुल १ सय ७४ रन बनाएका छन् । रुबेन ट्रुम्पलम्यानले ६ विकेट लिएका छन् । शेर मल्ल र तिलक भण्डारीले पछिल्लो खेलमा २-२ विकेट लिएर प्रभावसाली प्रदर्शन गरेका थिए । अहिलेसम्म चितवनसँग मात्र पराजित विराटनगरले आफ्नो अन्तिम खेलमा कर्णालीलाई पराजित गरेको थियो । 

१ सय ६१ रनको लक्ष्य पक्ष्याउने क्रममा सुरूवातमै २ विकेट गुमाएर दबाबमा परेको विराटनगरलाई बासिर अहमदले ४३ बलमा अविजित ६२ रन प्रहार गर्दै खेलमा फर्काएका थिए । यस नरायण जोशीको योगदान महत्त्वपूर्ण ररहेको थियो । टिमका लागि कप्तान सन्दीप लामिछानेले १० विकेट लिएका छन् । उनी प्रतियोगिताकै दोस्रो शीर्ष विकेट लिने बलर हुन् । बासिर अहमदले १ सय ४० रन बनाएका छन् ।

५ खेलमा ४ जितसहित ८ अंक जोडेको विराटनगर अंक तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा २ जित हात पारेको लुम्बिनी ४ अंकसहित छैंटौं स्थानमा छ ।