.png&w=1000&height=550)
काठमाडौं । एनपीएल-२०२५ मा मंगलबार हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमने सामने हुने छन् ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल दिउँसो ४ बजे सुरू हुनेछ । लिगमा पछिल्ला तीन खेल हार्दै दबाबमा परेको कर्णाली याक्सका लागि यो खेल जित्नै पर्ने आवस्यकता छ । मंगलबार पराजित भए ऊ प्रतियोगिताबाट बाहिरिने छ । गत सिजन प्लेअफ सम्म पुगेको कर्णालीले यस सिजन भने लय समात्न सकेको छैन ।
अर्को तर्फ पोखरा एभेन्जर्सले पनि जित आवश्यक बनाएको छ । मंगलबार पराजित भए पोखराको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । गत सिजन कर्णालीले पोखराविरूद्ध सात विकेटको सहज जित दर्ता गरेको थियो । अघिल्लो खेलमा लुम्बिनी लायन्ससँग पराजित भए पनि पोखरा एभेन्जर्सका केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एडम रोसिङ्टन ले ८१ रनको इनिङ्स खेलेका थिए भने जीमी निसमले तीन चौका र तीन छक्कासहित अर्धशतक प्रहार गरेका थिए । तर एनपीएलका बाँकी खेल नखेल्ने निर्णय गरेका निसम हाल नेपालबाट बाहिरिसकेका छन् । बिपिन खत्री, सागर ढकाल र म्याट टेलरले समान दुई-दुई विकेट लिएका थिए । मंगलबार कप्तान कुशल भुर्तेल, दिनेश खरेल, सुमित वर्मा र तर्तराज दासले पोखराको ब्याटिङ धान्ने अपेक्षा गरिएको छ ।
कर्णाली याक्सले पछिल्ला तीनै खेलमा हार बेहोर्दै लय गुमाएको छ । यद्यपि काठमान्डु गोर्खाजसँगको पछिल्लो खेलमा केही खेलाडीले सानदार प्रदर्शन गरेका थिए । गुलशन झाले २२ बलमा ४९ रनको अविजित इनिङस खेलेका थिए भने पवन सर्राफ ३५ र मार्क वाटले ३० रनको योगदान दिएका थिए ।
प्रियाङ्क पञ्चाल, विलियम बोसिस्टो र नजीबुल्लाह जादरान लगातार अस्थिर देखिँदा टोली दबाबमा परेको छ । नन्दन यादवले गोर्खाजविरूद्ध ३५ रन खर्च गर्दा ३ विकेट लिएका थिए । मार्क वाट, सोम्पाल कामी, बिपिन शर्मा र बोसिस्टो कर्णालीका मुख्य बलर हुन् । ५ खेलमा १ जित सहित २ अंक जोडेको कर्णाली लिगको छौंटौं स्थानमा छ । ४ खेलमा २ अंक जोडेको पोखरा सातौं स्थानमा छ ।