
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन-जीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् ।
ध्यानाकर्षण बुझाउन सोमबार सिंहदरबार पुगेका जेन-जीहरूले घन्टाैं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि हो-हल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरूको आरोप छ । यता प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेन-जी पुस्ताका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।
उहाँले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताउनु भयो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरूको मागहरू सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । तर उहाँहरूले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरूलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’
उपयुक्त समयमा जेन-जी प्रतिनिधिहरूलाई प्रधानमन्त्रीसँग भेट गराउने उहाँको भनाइ छ ।