
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गर्नुभयो । उहाँले पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्नुभयो । उहाँले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटी कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समयअनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरूराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।’
उहाँले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गर्नुभयो ।