
काठमाडौं । नेपाल दृष्टिविहिनका लागि पहिलो महिला टी-२० विश्वकप क्रिकेटको उपविजेता बनेको छ।
नेपाल आइतबार भएको फाइनलमा आयोजक भारतसँग सात विकेटले पराजित भयो । भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १४ रन बनाएको थियो। नेपालले राम्रो सुरूआत गर्न नसक्दा विनिता पुन ५, मनकेशी चौधरी ८ र सुस्मा तामाङ ६ रनमा आउट भए। त्यसपछि विमला राईले २६ र सरिता घिमिरेले ३५ रन बनाएर इनिङस उकासेका थिए। खेलमा भारतले २५ अतिरिक्त रन प्रदान गरेको थियो।
भारतका लागि जमुना रानी र अनु कुमारीले उत्कृष्ट बलिङ गरेर नेपाललाई कम स्कोरमा रोकेका थिए। जवाफमा भारतले १२ ओभरमा तीन विकेट मात्रै गुमाएर एक सय १५ रनको लक्ष्य पुरा गरेको हो। भारतले पनि ओपनिङ राम्रो गर्न सकेन। दिपिका ६ र अनेखा देवी २ रनमा आउट भए। तर त्यसपछि करुणाले ४२ रन बनाएर भारतलाई पुनरागमन गराएकी हुन्।
उनले फुला सरेनसँग ५१ रनको साझेदारी गरेका थिए। सरेनाले ४४ रनको उत्कृष्ट पारी खेलिन्। नेपालका लागि बिथ्री खेलाडी दिलीसारा धमलाले मात्रै विकेट लिएकी थिइन्। दुई खेलाडी रनआउट भएका थिए। लिग चरणमा एक मात्रै हार ब्यहोरेको नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिगमा पनि नेपाल भारतसँग ८५ रनले पराजित भएको थियो ।