
जनकपुर । मिथिलाञ्चलका धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन शुक्रबार फुलबारी लिला मनाइएको छ ।
जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपमा रहेको फुलवारीमा भगवान राम र सीताको स्वरूप बनाइ बालबालिकाहरूलाई उक्त फुलवारीमा घुमाउने चलन रहेको छ । रामायणमा फुलवारीमै राम र सीताबीच पहिलो भेट भएको उल्लेख छ । फुलवारीमै राम र सीता एक अर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई राम जस्तै बेहुला पाउन कामना गरेको भन्ने मान्यता रहेको छ ।
यसअघि नगरदर्शन कार्यक्रम सम्पन्न भएको थियो । तेत्रयुगमै भारत अयोध्याका राजा दशरथका छोरा पुरूषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्धमा बाँधिएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुल्क पञ्चमीमा जनकपुरधामामा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
महोत्सवलाई नेपाल-भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।