
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणआजबाट सुरु हुँदैछ । एनपिएलको बहुप्रतिक्षित संस्करण आज साँझ त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा हुनेछ । ८ टिम सहभागी हुने प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।
फेस्टिवल अफ हिमालयज नाम दिइएको एनपिएलले जेनजी आन्दोलनपछि सुस्ताएको अर्थतन्त्र, पर्यटन, खेल उद्यम, यातायात र होटेल व्यवसायको विकासमा समेत सहयोग गर्ने अपेक्षासमेत राखिएको छ। सहरी विकास मन्त्रालयले प्रतियोगिता आयोजना लागि नेपाल क्रिकेट संघ क्यानलाई भर्खरै निर्माण सम्पन्न भएको प्यारापिट र फ्लड लाइट हिजो हस्तान्तरण गरेको छ। लाइट जडान शनिवार सम्पन्न भएको थियो । सिट जडानको काम भने यसअघि नै सकिएको थियो। ८ टोली सहभागी हुने लिगको फाइनल खेल मंसिर २७ गते हुनेछ। लिग चणका खेल सम्पन्न भएपछि शीर्ष चार टोली प्ले अफमा प्रवेश गर्नेछन्। प्रतियोगिताका लागि विदेशी खेलाडी आउने क्रम अझै जारी छ। नेपालमा पहिलो पटक फ्लड लाइटमा क्रिकेटको खेल आयोजना हुन लागेको हो। पहिलो चरणको निर्माण समयमै सम्पन्न गरेको भन्दै क्यानले सरकारलाई धन्यवाद दिएको छ।
उद्घाटन खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्टस्
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डू गोर्खाज प्रतिस्पर्धा गर्दै छन् । टियू क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे सुरु हुँने छ । हालै स्तरोउन्नती गरिएको टियू मैदानमा पहिलो पटक प्यारापीट सहित डे नाइट खेल हुँन लागेको हो । यस खेलका सबै टिकट विक्री भइसकेका छन्।
गत सिजन लिग चरणमा दुई टोली अमने समने हुँदा जनकपुरले ५ विकेटको सहज जित हात पारेको थियो । काठमाण्डूले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले २५ बल बाँकी रहदै ५ विकेट गुमाएर पुरा गरेको थियो । वेस्ट इन्डिजका महान ब्याटर शिवनारायण चन्द्रपलको प्रशिक्षणमा जनकपुरले विदेशी खेलाडीका रुपमा लाहिरू मिलान्था, वायन पार्नेल, इमरान ताहिर, जान निकोल लफ्टी इटन, सञ्जय कृष्णमूर्ति र लाहिरु समरा-कुनलाई अनुबन्धित गरेको छ । टोलीले समाजिक सञ्जाल मार्फत अनिल सहालाईनै कप्तानको रुपमा निरन्तरता दिएको छ । ललित राजबंसीले गत सिजन जनकपुरलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए ।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा गोर्खाज गत सिजन भन्दा बलियो देखिएको छ । उसले विदेशी खेलाडीको रुपमा सन्नी पटेल, इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अपि|mकाका विकेटकिपर ब्याटर रिकार्डो भास्को-नेसेलोस, नामिबियाका कप्तान जेरहार्ड एरास-मस र अमेरिकी ब्याटर मिलिन्द कुमार तथा इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्प-सनलाई अनुबन्धन गरिसकेको छ ।
एरास-मस बाहेक अन्य सवैले पहिलो पटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन् । गत सिजन कप्तान तथा मार्की खेलाडी करण केसीले टिमका लागी सर्वाधिक विकेट लिएका थिए । नेट रन रेटमा पछी पार्दा गोर्खाज प्लेअफ पुग्नबाट चुकेको थियो । यस पटक नेपाली क्रिकेटलाई लिएर मोन्टीको अनुभवको भरपुर फाइदा उठाउने रणनिती बनाएको छ । डे नाइट खेलमा सितले प्रभाव पार्ने भएको कारण टस जित्ने टिमले पहिला फिल्डिङ गर्न सक्छ ।
एनपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा
नेपाल प्रिमियर लिग एनपिएलको प्रसारण कान्तिपुर म्याक्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ-क्यानले नेपाल प्रिमियर लिग- एनपीएल २०२५ को टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई प्रदान गर्ने निर्णय गरेको छ। क्यानले प्रतियोगिताको एक दिनअघि मात्रै नेपालभित्र प्रत्यक्ष प्रसारणका लागि टेलिभिजन अधिकारको घोषणा गरेको हो।
क्यानले यसअघि खुलाएको एक आह्वान रद्द गरेर केही दिनअघि दोस्रो सूचना प्रकासन गर्दै नेपालभित्र प्रसारणका लागि बोली लगाउने आह्वान गरेको थियो। त्यसपछि क्यानले आइतबार प्रसारणको अधिकार टुंगो लगाएको हो। कान्तिपुर टेलिभिजनले नोभेम्बर १५ मा दिएको बोली क्यानले मूल्याङ्कन तथा नियमावलीअनुसार स्वीकार गरेको जानकारी दिएको छ।
यो निर्णयसँगै एनपीएल २०२५ को टेलिभिजन प्रसारण कान्तिपुर म्याक्समार्फत् हेर्न मिल्ने पक्का भएको छ। कान्तिपुर म्याक्सले यसअघि आईपिएल विम्बल्डन र इंग्लिस प्रिमियर लिगजस्ता विश्वकै चर्चित प्रतियोगिताको समेत प्रत्यक्ष प्रसारण गरिसकेको छ।