
काठमाडौं । नेपाल, भारतमा जारी नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकाविरूद्ध कीर्तिमानी जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । जारी विश्वकपमा नेपालको यो तेस्रो जित हो । सम्प्रसिद्धी स्पोर्ट इस्टाडीयो बैँगलोरमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा सबै विकेट गुमाए १७ रन मात्र बनाउन सक्यो ।
जुन नेत्रहीन महिला क्रिकेटमा कुनै पनि टिमले बनाएको न्यूनतम योगफल हो । यस अघि पाकिस्तानले वेस्टइन्डिजविरूद्ध २१ रन बनाएको खराब कीर्तिमान थियो । कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेको अमेरिकाका ८ ब्याटर डक आउट भएका थिए । नेपालका लागी दिलिसारा धमललाले ३ र सरिता घिमिरेले १ विकेट हात पारे । उसका बाँकी ब्याटर रन आउट भएका थिए ।
जवाफमा १८ रनको अति सामान्य लक्ष्य नेपालले केबल ४ बलमै पुरा गर्यो । दिलिसाराले अविजित १२ रन बनाइन् भने गिता पौडेलले स्ट्राइकर एन्डमा आउने अवसर पनि पाइनन् । नेपालले ६ रन अतिरिक्त पाएपछि सहज जित हात पार्यो । यससँगै नेपालले ४ खेलमा ३ जित सहित ६ अंक जोडेको छ ।
नेपाल तालिकाको दोस्रो स्थानमा छ । ३ खेलमा जितविहिन अमेरिका पुछारमा छ ।