
काठमाडौं । हङकङ सिक्सेसको बाउल लिगमा नेपालले भारतविरूद्ध एकपक्षीय जित हात पारेको छ ।
नेपालले भारतलाई ९२ रनको विशाल अन्तरले पराजित गरेको हो । नेपालको जितमा राशिद खानले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । मिसन रोड ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा विना विकेटको क्षतिमा १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो ।
राशिद खानले १७ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ५५ रनको योगदान दिएका थिए । प्रतियोगिताको नियम अनुसार अर्धशतक प्रहार गरेपछि उनी रिटायर्ड भएका थिए । कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्कासहित अविजित ४७ रन बनाए । लोकेश बम ७ बलमा ३१ रन जोडेर नटआउट रहे ।
भारतका कुनै पनि बलरले विकेट लिन सकेनन् । जवाफमा भारत ३ ओभरमा ४५ रन जोड्दा अलआउट भयो । ओपनर रविन उथप्पा ५ रनमा बाहिरिए । स्टुवार्ड बीनीले खाता खोल्न सकेनन् । उसका लागि भरत चिपली र प्रियांक पञ्चालले सर्वाधिक १२-१२ रनको योगदान दिए ।
कप्तान दिनेश कार्तिक र शाहबाज नदीम समान ७-७ रनमा बाहिरिए । भारतका ५ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि नेपालले सानदार जित हात पारेको हो । नेपालका लागि राशिदले ३ तथा बसिर अहमदले २ र रूपेश सिंहले १ विकेट लिए । जितसँगै बाउल लिगमा नेपालले दुई खेलमा दुई अंक जोडेको छ । दुई खेलमा हार बेहोरेको भारत अंकविहीन छ ।