
काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि चीन र भारतसँग जोडिएका सीमा नाकाहरू बन्द गरिएका छन् ।
सिन्धुपाल्चोकको नेपाल-चीन तातोपानी नाका पूर्णरूपमा बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले २१ गते राति १२ बजेसम्मको लागि नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एव शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नाका बन्द भएको साहयक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय संखुवासभाले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चीनसँग जोडिएको किमाथांका नाका सोमबार राति १२ बजेबाट अस्थायी रूपमा बन्द गरिएको छ।
बिहीबार हुने निर्वाचनलाई लक्षित गर्दै २०८२ फागुन १८ गते राति १२ बजेदेखि २१ गते बिहीबार राति १२ बजेसम्म नाका पूर्णरूपमा बन्द रहने छ। चीनसँग सिमाना जोडिएको संखुवासभा जिल्लाको उत्तरी भेगस्थित किमाथांका नाका स्थानीय व्यापार, आवतजावत तथा आपूर्ति व्यवस्थाको दृष्टिले महत्वपूर्ण मानिन्छ।
तथापि निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा मतदातालाई सुरक्षित वातावरण उपलब्ध गराउन नाका बन्द गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जारी गरेको सूचनामा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख छ।