
काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आफ्नो छैटौं विदेशी खेलाडी पनि घोषणा गरेको छ।
नेपाली क्रिकेटमा निकै लोकप्रिय छबि बनाएका अलराउन्डर सन्नी पटेललाई गोर्खाजले एनपीएलका लागि अनुबन्धन गरेको जानकारी दिएको हो । पटेल नेपालको फ्रेन्चाइज क्रिकेटमा लोकप्रिय खेलाडी हुन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए ।
डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरूद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए । भारतको गुजरातबाट रण्जी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सो क्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए ।
च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए । उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ । यससँगै काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पुरा गरेको छ ।
गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्को-नेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनलाई अनुबन्धन गरिसकेको छ । इरसमसबाहेक अन्य सबैले पहिलो पटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन् ।