जुम्लामा फुटबलप्रतिको आकर्षण बढ्दो

युवाहरू मनोरञ्जनका लागि मात्रै नभई करियर बनाउन पनि फुटबल मैदानमा
कार्तिक १६, २०८२ |डीबी बुढा
जुम्लामा फुटबलप्रतिको आकर्षण बढ्दो

जुम्ला । जुम्लामा पछिल्लो केही वर्षयता फुटबलप्रतिको आकर्षण बढ्दै गएको छ । 

यहाँका युवाहरू अब मनोरञ्जनका लागि मात्रै होइन, करियर निर्माणका लागि पनि फुटबल मैदानमा पस्न थालेका छन् । युवाहरूमा देखिएको यो जोश र प्रतिबद्धताले जुम्लालाई खेलकुदमा स्थापित गर्ने आशा जगाएको छ । हिउँदको चिसो बिहान होस् वा गर्मीको साँझ, जुम्लाका खेलमैदानहरू अहिले उत्साह र जोशले भरिएका छन् । 

विद्यालय सकेर घर फर्किने क्रममा खेलकुदको झोला बोकेका विद्यार्थीहरू मैदान पुग्छन्, जहाँ उनीहरू फुटबलको अभ्यासमा तल्लीन हुन्छन् । वृद्धहरू पनि उत्साहित हुँदै खेल हेर्न पुग्छन्। विद्यालयहरू, युवा क्लब र खेलप्रेमी समूहले फुटबललाई व्यवस्थित बनाउन निरन्तर प्रयास गरिरहेका छन् । 

गाउँ-गाउँमा आयोजना हुने मैत्रीपूर्ण खेल र अन्तर-विद्यालय प्रतियोगिताले नयाा प्रतिभा उजागर गर्न सहयोग पुर्‍याइरहेका छन् । फुटबल अब यहाँ केबल खेल होइन, सामाजिक मेलमिलाप र युवाहरूको पहिचानको माध्यम बनेको छ । अहिले जुम्लाका हरेक बस्तीसम्म फुटबल पुगेको छ । क्षेत्रीय र राष्ट्रिय खेलाडीहरू उत्पादन हुने क्रममा छन् ।

तिहार, दशैं र नयाा वर्षको अवसरमा आयोजना हुने 'जुम्ला गोल्डकप', 'तातोपानी कप', 'हिमा कप' र 'गुठिचौर कप'जस्ता प्रतियोगिताहरू अहिले स्थानीयस्तरका सबैभन्दा चर्चित खेल उत्सव हुन् । यी प्रतियोगिताले जिल्लाभरका युवालाई एउटै मैदानमा ल्याउँछन्, जहाँ प्रतिस्पर्धा मात्र होइन, मित्रता र सहकार्यको भावना पनि मिसिन्छ ।

पर्याप्त पूर्वाधार र उपकरणको अभावले अभ्यासमा भने कठिनाइ ल्याउँछ । तर खेलप्रेमी युवाहरूको उत्साह र आत्मबलले यी सीमितताहरूलाई चिर्दै आएको छ । जुम्लाको चिसो हावापानी र कठिन जीवनबीच पनि युवाहरूको फुटबलप्रतिको चाह घटेको छैन । यदि आवश्यक पूर्वाधार र सहयोग प्राप्त भयो भने, जुम्लाबाट पनि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट फुटबल खेलाडी जन्मिने आशा गर्न सकिन्छ । 

सीमित स्रोतबीचको यो प्रयासले जुम्लालाई खेलकुदको नयाँ गन्तव्य बनाउन सक्ने विश्वास स्थानीयहरूमा पलाएको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।