आईसीसी विश्वकप लिग 'टू'मा यूएई र अमेरिकाबीचको खेल जारी

टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा, लगातार दोस्रो जित हात पार्ने अमेरिकाको लक्ष्य
कार्तिक ११, २०८२ |खेल ब्युरो
आईसीसी विश्वकप लिग 'टू'मा यूएई र अमेरिकाबीचको खेल जारी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग 'टू'मा अहिले यूएई र अमेरिकाबीच प्रतिस्पर्धा जारी छ । 

जारी सिरिजमा घरेलु टिम यूएईको यो पहिलो खेल हो । अमेरिका लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । खेलमा अमेरिकाले सानदार सुरूआत गरेको छ भने भने घरेलु मैदानमा यूएईले सुरूमै २ विकेट गुमायो ।

पहिलो ओभरको अन्तिम बलमा सौरभ नेत्राभल्करले अलिसान सराफूलाई एक रनमा आउट गरे। युवा खेलाडी रूसी उगारकरले अर्का ओपनर आर्यान्स शर्मालाई पवेलियन फर्काए। दुई विकेट गुमाउँदा यूएईले ४ रन मात्रै बनाएको थियो ।

आफ्नो पहिलो खेलमा अमेरिकाले, नेपालमाथि १ सय ६ रनको फराकिलो जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको अमेरिकाले ६ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । जवाफमा नेपाल ३९ ओभर एक बलमा १ सय ५६ रनमा अल आउट हुँदा अर्मित सिंहले ६ विकेट लिएका थिए । 

नेपालका पूर्व प्रशिक्षक पुवुदु दशानायकेको प्रशिक्षणमा रहेको अमेरिका २१ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यूएई भने खराब फर्मबाट गुज्रिरहेको छ । पुच्छारमा रहेको यूएईले १६ खेलबाट मात्र ६ अंक जोडेको छ । यूएई ५० ओभरमा अमेरिकासँग लगातार तेस्रो हार टार्ने लक्ष्यमा हुनेछ ।