नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

कप्तान सावित्रा भन्छिन्-खेल दक्षिण एसियाली प्रतिष्ठाको लडाइँ हो
कार्तिक १०, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटवल टिमले साेमबार भारतसँग मैत्रीपुर्ण खेल खेल्दैछ । 

यी दुवै टिमले आफ्नो पहिलो खेलमा इरानसँग हार बेहोरेपछि थ्री नेशन्स कपको उपाधि भने गुमाइसकेका छन् । नेपाली टिमकी कप्तान सावित्रा भन्डारीले भारतविरूद्धको खेललाई दक्षिण एसियाली प्रतिष्ठाको लडाईका रूपमा व्याख्या गरेकी छन् । 

नेपाल र भारत दक्षिण एसियाली फुटवलमा चीर प्रतिद्धन्दीका रूपमा रहँदै आएका छन् । आफ्नो पहिलो खेलमा नेपालले इरानसँग ३-० गोलको हार बेहोरेको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दश मिनेटको अन्तरमा तीन गोल खाएको हो । 

कप्तान सावित्राले सन्तुलन कायम गर्न नसक्दा पराजति हुन पुगेको र भारतसँगको खेल कमजोरी सुधारको अवसर रहेको प्रतिक्रिया दिइन् । मुख्य प्रशिक्षक नविन न्यौपानेले पहिलो खेलमा हार्नुको एउटा कारण लामो यात्रा र थकाइ भएको बताए । 

भारत बलियो प्रतिद्वन्द्वी भएको भन्दै आफ्नो टिम पुर्ण रूपमा केन्द्रित रहेको उनको भनाइ छ । नेपालले मैत्रीपुर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । भारत भने अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कप खेल्दैछ । 

मुख्य प्रशिक्षक क्रिस्पिन क्षेत्रीले इरानसँगको हारबाट पुनरागमन गर्ने अवसर रहेको भनाइ राखे । उनले नेपाली टिमकी फरवार्ड सावित्रा थ्रेट हुन सक्ने धारणा व्यक्त गरेका छन् । नेपाल सामु भारतलाई उसकै भुमिमा पुन पराजित गर्ने मौका छ । 

सन २०१९ मा नेपालले हिरो गोल्डकपमा घरेलु टिम भारतलाई २-१ गोलले हराएको थियो । जुन नेपालले भारतमाथि हात पारेको पहिलो जित थियो । पछिल्लो पटक साफ च्याम्पियनसिपको सेमीफाइनलमा एक वर्ष अघि दशरथ रंगशालामा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको थियो । 

समग्रमा यी दुई टिमबीच १८ पटक भेट हुँदा नेपाल तीन र भारत ११ पटक विजयी भएको छ । ६ खेल बराबरीमा सकिएको छ । सवै खेलमा नेपालले भारतविरूद्ध १२ गोल गरेको छ । सावित्राको नाममा ८ गोल छ । सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ ।