
काठमाडौं । तेस्राे एसियाली युथ गेम्समा सहभागि हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ ।
एसियाली युथ गेम्स सुरू भइसके पनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौति प्रस्तुत गर्ने छन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।
समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् । टोलीलाई नागर्जुन नगरपालिका वडा १ ले आइतबार बिदाइ गरेको छ । वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रूपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए । एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने छन् ।