नेपाली क्रिकेटलाई अर्को ऐतिहासिक सफलता, टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन

आश्विन ३१, २०८२ |खेल ब्युरो
नेपाली क्रिकेटलाई अर्को ऐतिहासिक सफलता, टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन

काठमाडौं । नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । 

शुक्रबार भएको खेलमा सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले जितेको आईसीसीको यो पहिलो प्रमुख उपाधि हो । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा सामोआले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रियो । 

आसिफ सेख र दिपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रनको बनाएको थियो । छनोटमा यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईले सामोआविरूद्ध २ सय २५ रन बनाएको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि ६३ रनको ओपनिङ साझेदारी गरे । कुशल १७ रनमा आउट भए । 

आसिफले ६९ रन जोडे । टी-२० आईमा उनको यो व्यक्तिगत उच्च रन हो । यसअघि आसिफले वेस्ट इन्डिजसँग ६८ रन बनाएका थिए । दीपेन्द्रले ३३ बलमा ५३ रनको योगदान गरे । आरिफ शेख ९ रनमा मैदान बाहिरिए । लोकेश बम १२ बलमा ३९ र कप्तान रोहित पौडेल १२ बलमा २१ रन बनाउँदै अविजित रहे ।

जवाफमा सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाउनुबाहेक अन्य ब्याटर सस्तैमा पभेलियन फर्किए । ललित राजवंशीले तीन, करण, सन्दीप लामिछाने र रोहितले एक-एक विकेट लिए । आरिफ शेख र करण केसीले छनोटमा पहिलो खेल खेलेका हुन् । 

च्याम्पियन बन्ने क्रममा नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । सुपर सिक्समा यूएई, कतार र ओमानलाई पराजित गर्यो । नेपालले लामो समयदेखिको उपाधि खडेरी पनि तोडेको छ । योभन्दा पहिले नेपालले २०१८ मा एसिया छनोटमा पुग्नका लागि भएको इस्टर्न रिजनको उपाधि जितेको हो । 

नेपालले दुई खेल अगावै विश्वकपमा भने स्थान बनाइसकेको थियो । नेपालसँगै ओमान र यूएई पनि विश्वकप पुग्न सफल भए । नेपालले ५ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर छनोट टुंग्यायो । ओमान ८ अंकका साथ दोस्रो र ६ अंकसहित युएई तेस्रो स्थानमा रहे । 

नेपाली टिम अब विश्व क्रिकेट लिग-टू का लागि ओमानबाट यूएई जानेछ ।