नेपाली राष्ट्रिय पुरूष भलिबल टिमको कप्तानको जिम्मेवारी हरिहजुर थापा

उमेर समूहको महिला टिमको कप्तानमा जेनिसा विश्वकर्मा
आश्विन ३१, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय पुरूष भलिबल टिमको कप्तानको जिम्मेवारी हरिहजुर थापा

काठमाडौं । हरिहजुर थापा पुन: नेपाली राष्ट्रिय पुरूष भलिबल टिमको कप्तानको जिम्मेवारीमा फर्किएका छन् ।

नेपाल भलिबल संघले शुक्रबार सेटर हरिहजुरलाई सिनियर टिमको कप्तान बनाइएको जानकारी दिएको हो । मुख्य र सहायक प्रशिक्षकको सिफारिसमा भलिवल संघको ५८औं कार्यसमिती बैठकले हरिहजुरलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । 

यसअघि उनी सन २०२३ जुनमा कप्तान बनेका थिए । सोही वर्षको जुलाईमा हरिहजुरलाई भलिबल संघले नेतृत्व क्षमता नभएको भन्दै कप्तानबाट हटाएको थियो । सातौ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश बीचको खेलमा विवाद भएको थियो । 

खेलको तेस्रो सेट चलिरहँदा आर्मीका हरि हजुरसहित चार खेलाडीले प्यारापिटमा गएर दर्शकलाई कुटेका थिए । सोही कारण भलिबल संघले अनुसान विपरित कार्य गरेको भन्दै हरिहजुरलाई कारबाही गरेको थियो । त्यसपछि संघले आर्मीकै मानबहादुर श्रेष्ठलाई कप्तान नियुक्त गरेको थियो । 

राष्ट्रिय टिमको एघारौं कप्तान बनेका मानबहादुरले खेल जीवनबाट सन्यास लिइसकेका छन् । हरिहजुरको कप्तानीमा नेपालले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप खेल्नेछ । प्रतियोगिता कात्तिक ५ देखि ११ गतेसम्म हुनेछ । 

यस्तै संघले अन्डर नाइन्टिन महिला भलिबल टिमको कप्तानमा जेनिसा विश्वकर्मालाई नियुक्त गरेको छ ।