नेपाली क्रिकेटको ऐतिहासिक सफलता : विश्वकपमा स्थान सुरक्षित गर्दै च्याम्पियन बन्ने लक्ष्य

आश्विन २९, २०८२ |सुवास रोकाया
नेपाली क्रिकेटको ऐतिहासिक सफलता : विश्वकपमा स्थान सुरक्षित गर्दै च्याम्पियन बन्ने लक्ष्य

काठमाडौं । पछिल्लो एक महिनामा नेपालीले निकै कठिन परिस्थतीको सामना गरे । 

यहि बीचमा नेपाली क्रिकेट टिमले खुसी ल्याएको छ, विश्वकपमा छनोट भएर । आफ्नो दुई खेल अगावै टी-२० विश्वकप पुगेको नेपालको लक्ष्य च्याम्पियन हुने हो । ओमानमाथि जित निकाल्दै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपको यात्रा तय गर्न सफल भएको छ । 

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै एक खेल अगावै विश्वकपको टिकट सुरक्षित गरेको हो । २०१४ मा पहिलो पटक विश्वकपमा पुगेको नेपालले त्यसपछि १० वर्ष लामो प्रतिक्षा सहेको थियो । दोस्रो पटक २०२४ मा टी-२० विश्वकप खेलेको नेपालले यस पटक भने लगातार आफूलाई प्रमाणित गरेको छ ।

जब नेपाल पहिलो पटक विश्वकप पुगेको थियो, क्रिकेट संघ-क्यान अस्थिर अवस्थामा थियो । २०१६ मा आईसीसीको प्रतिबन्धले नेपाली क्रिकेटलाई अन्धकारतर्फ धकेलेको थियो । तर आजको अवस्था फरक छ । अहिलेको क्यान व्यवस्थित, दूरदर्शी र सक्षम छ । व्यवस्थापनको दृढता, प्रशिक्षकको योजना र खेलाडीको अथक परिश्रमले नेपाली क्रिकेटलाई नयाँ दिशा र उचाइ दिएको छ ।

छनोट प्रतियोगिता सुरू हुनुअघि नै क्यानले टोलीको तयारीका लागि उल्लेखनीय पहल गरेको थियो । भारतमा प्रशिक्षण, अस्ट्रेलिया भ्रमण र यूएईमा सम्पन्न युनिटी कप । यी सबैले टोलीको आत्मविश्वास र तालमेललाई पूर्णता दिएको थियो । विशेषगरी युनिटी कपमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक शृङ्खला जितले नेपाली टोलीलाई असाधारण ऊर्जा र विश्वास प्रदान गर्‍यो ।

समूह चरणमा कुवेत र जापानमाथि सहज जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको थियो । त्यहाा यूएई र कतारविरूद्ध रोमाञ्चक जित हात पार्दै टोलीले आफ्नो सामथ्र्य प्रमाणित गर्‍यो । र, अन्ततः घरेलु टोली ओमानलाई समेत पराजित गर्दै नेपालले एक खेल अगावै विश्वकपको ढोका खोलिदियो ।

यस यात्राको मेरूदण्ड थियो नेपालको बलिङ र फिल्डिङ- प्रत्येक बलरले जिम्मेवारी पूरा गरे, प्रत्येक फिल्डरले रन रोके, क्याच समाते र सही समयमा रन आउट दिलाए । गुल्सन झाको छोटो तर जोशिलो इनिङ्सले ब्याटिङमा जीवन फुक्यो, दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनले टोलीलाई सन्तुलन दियो । र, सन्दीप लामिछानेको जादुई स्पिनले खेल पल्टायो । यी सबैको रणनीतिक संयोजनमा प्रशिक्षक स्टुअर्ट लको सोच र नेतृत्वले नेपाललाई सफलता दिलाएको हो ।

अब नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआविरूद्ध खेल्न बाँकी छ । त्यसमा पनि जित हात पार्दै नेपाल अपराजित च्याम्पियनको रूपमा विश्वकपमा प्रवेश गर्ने लक्ष्यमा छ । यो नेपाली क्रिकेटका लागि नयाँ यात्राको सुरुवात हो । 

भारत र श्रीलंकामा सन् २०२६ को फेब्रुअरी-मार्चमा हुने टी-२० विश्वकपमा नेपालले आफूलाई अझ सक्षम राष्ट्रका रूपमा प्रमाणित गर्नुपर्नेछ । २०२४ विश्वकपमा बेहोरेका झिनो अन्तरका हारहरू अब प्रेरणा बन्नुपर्नेछ । अब नेपालको लक्ष्य स्पष्ट छ । उत्कृष्ट प्रदर्शन, निरन्तर सुधार र अन्ततः टेस्ट टोलीको मान्यता । क्यान, खेलाडी र क्रिकेटप्रेमी सबैको साझा लक्ष्य यही हो ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।