काठमाडाैं । आईसीसी महिला वान-डे विश्वकपमा बुधबार डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले टी-२० विश्वकप विजेता न्यूजिल्यान्डको सामना गर्दैछ ।
भारतको इन्दौरस्थित होलकर स्टेडियममा खेल नेपाली समयअनुसार सवा ३ बजे सुरू हुनेछ । अस्ट्रेलियाको महिला टोलीले अहिलेसम्मकै सर्वाधिक ७ पटक विश्वकप जितिसकेको छ । ऊ २ पटकको उपविजेतासमेत हो । न्यूजिल्यान्डले सन् २००० मा एक मात्र महिला एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
दुवै टोलीबीच हालसम्म खेलिएका १ सय ३५ एकदिवसीय खेलमा अस्ट्रेलियाले १०२ जित हात पारेको छ भने न्यूजिल्यान्डले ३१ खेल जितेको छ । २ खेल नतिजाविहीन रहेका छन् । वान-डे विश्वकपमा दुवै टोली १६ पटक भिड्दा अस्ट्रेलियाले १३ र न्यूजिल्यान्डले ३ खेल जितेका छन् ।
न्यूजिल्यान्डले यस वर्ष मात्र ३ एकदिवसीय खेलेको छ । अस्ट्रेलियाले भने पछिल्ला ९ एकदिवसीय सिरिज जितेको छ ।