यस वर्ष महिलातर्फकाे बलुन दो अवार्ड एइटाना बोनमटीलाई

आश्विन ७, २०८२ |खेल ब्युरो
यस वर्ष महिलातर्फकाे बलुन दो अवार्ड एइटाना बोनमटीलाई

काठमाडौं । महिलातर्फ बार्सिलोना तथा स्पेनकी एइटाना बोनमटीले तेस्रो पटक बलुन दो अवार्ड जितेर इतिहास रचेकी छन् । 

मिडफिल्डर बोनमटी तेस्रो पटक यो अवार्ड प्राप्त गर्ने पहिलो महिला खेलाडी हुन् । २७ वर्षकी बोनमटीले आफ्नो इन्टरनेशनल टिम मेट तथा आर्सनल विंगर मारियोना कालदेन्तीयलाई पछि पारेकी हुन् । 

शीर्ष दशको मनोनयनमा पाँच इङलिस खेलाडी समावेश थिए । बोनमटीले सन २०२३ र २०२४ मा पनि बलुन दो अवार्ड आफ्नो नाममा लेखाएकी थिइन् । पछिल्लो पाँच वर्षमा यो अवार्डमाथि बार्सीलोनाका खेलाडीले वर्चश्व जमाएका छन। 

२०२१ र २०२२ मा एलिक्सिया पुटियास विजेता बनेकी थिइन् । बार्सीलोना लेजेन्ड आन्द्रेस इनिएस्टाबाट अवार्ड प्राप्त गरेकी बोनमटीले तेस्रो पटक विजेता बनेकोमा विश्वास नलागेको प्रतिकृया दिइन् । 

गत सिजन स्पेन युरोकपको फाइनल पुग्दा महत्वपूर्ण खेलमा गोल गरेकी थिइन् । प्रतियोगिता पूर्व भाइरल मेनेन्जाइटिस भएपछि बोनमटीको सहभागीता अनिश्चित भएको थियो । तर अस्पतालको बेडबाट फर्किएकी बोनमटीले सेमीफाइनलमा जर्मनीविरुद्ध विजयी गोल गरेकी थिइन् । 

उनी युरो २०२५ को प्लेयर अफ द टुर्नामेन्ट बनेकी थिइन् । स्पेनले फाइनलमा इङल्यान्डसँग हार बेहोरेको थियो । महिलातर्फको कोपा अवार्ड बार्सीलोनाकी भिक्की लोपेजले जितिन् । 

इङल्यान्ड राष्ट्रिय टिमकी सरिना भिगमन उत्कृष्ट प्रशिक्षक बनेकी छिन । यस्तै चेल्सीकी हन्नाह ह्याम्पटनले उत्कृष्ट गोलकिपरको अवार्ड जितिन् । आर्सनल टिम अफ द इयर अवार्ड जित्न सफल भयो।