काठमाडौं । यो वर्षको बलुन-दो अवार्ड पेरिस सेन्ट जर्मेन-पीएसजीका उस्मान डेम्बेलेले जितेका छन् ।
फ्रेन्च फरवार्ड डेम्बेलेले बार्सिलोना तथा स्पेनका लमिन यामललाई पछि पारेका हुन् । पेरिसमा गएराति आयोजना गरिएको विशेष समारोहमा विजेता घोषणा गरिएको हो ।
उनको टिम पीएसजीले गए राति नै लिग वानमा मार्शेसँग प्रतिस्पर्धा गरेको भए पनि डेम्बेले अवार्ड समारोहमा उपस्थित थिए । २८ वर्षीय फ्रेन्च फरवार्डले पहिलो पटक यो अवार्ड जितेका हुन् ।
ब्राजिलियन लेजेन्ड रोनाल्डिन्होले डेम्बेलेलाई अवार्ड प्रदान गरेका थिए । गत सिजन पीएसजीले ट्रिबल गर्दा उनको प्रदर्शन महत्वपूर्ण रहेको थियो । अवार्ड प्राप्त गरेपछिको सम्बोधनमा डेम्बेलेले आफूसँग खुशीको बयान गर्ने शब्द नभएको भन्दै भावुक बनेका थिए ।
गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल गर्दै १४ एसिस्ट गरेका थिए । उनले शानदार प्रदर्शन गरेपछि पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्यो ।
यस्तै लिग वान उपाधि र फ्रेन्च कप पनि उसकै नाममा रह्यो । डेम्बेले बलुन दो अवार्ड जित्ने छैंटौ फ्रेन्च खेलाडी हुन् । सन् २०२२ मा करिम बेन्जिम पछि डेम्बेले पहिलो हुन् ।
बार्सिलोनाका पूर्वखेलाडी डेम्बेलेको उच्च प्रदर्शनमा प्रशिक्षक लुइस इनरिकेको भूमिका विषेश छ । उनले गत डिसेम्बरको मध्यमा ट्याक्टिकल स्विच गरेका थिए । इनरिकेले डेम्बेलेलाई सेन्टर वाइड राइटबाट फरवार्डको जिम्मेवारी दिएयता ३० गोल गरेका थिए ।
इनरिके, वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । पीएसजीले टिम अफ द इयरको अवार्ड पनि जित्यो । यस्तै हाल म्यानचेस्टर सिटीमा रहेका डोनारूम्मा उत्कृष्ट गोलकिपर बने ।
बलुन दो अवार्डमा दोस्रो भए पनि यामलले लगातार दोस्रो पटक २१ वर्ष मुनिका खेलाडी दिइने कोपा अवार्ड हात पारे । अवार्ड समारोह अघि नै यामल वर्षको उत्कृष्ट खेलाडीको विजेता बनेको खबर फैलिएको थियो ।
२०१८ मा स्थापना गरिएको कोपा अवार्ड दुई पटक जित्ने उनी पहिलो खेलाडी बनेका छन् । आर्सनलका भिक्टर ग्योकेरेसले गर्ड मुल्लर अवार्ड प्राप्त गरे । यो अवार्ड युरोपियन फुटवल र क्लबबाट उच्च गोल गर्ने खेलाडीलाई दिइन्छ ।