काठमाडौं । ताजकिस्तानमा जारी एएफसी अन्डर-२३ एसियन कप छनोटअन्तर्गत समूह 'के' मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार सिरियासँग प्रतिस्पर्धा गर्दै छ ।
दुसान्बेको रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरू हुने छ । नेपालले यसअघि पहिलो खेलमा आयोजक ताजकिस्तानसँग ४-० गोलअन्तरले हार बेहोरेको थियो । अघिल्लो चरणमा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई जित्नै पर्ने दबाब छ ।
अर्कोतर्फ सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २-१ ले पराजित गरेको थियो । एएफसीको एक खेलको निलम्बनका कारण नेपाल यू-२३ टोलीका कप्तान आयुष घलानले ताजकिस्तानविरूद्धको खेल गुमाएका थिए । आज उनी टिममा फर्कने छन् ।
समूह केमा अंकविहीन नेपाल पुछारमा छ । समान ३-३ अंकसहित ताजकिस्तान पहिलो र सिरिया दोस्रो स्थानमा छ । कुनै अंक जोड्न नसकेको फिलिपिन्स तेस्रो स्थानमा छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल २४ भदौमा फिलिपिन्ससँग खेल्नेछ ।