अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

खेल साँझ साढे ५ बजे सुरू हुने
भाद्र २१, २०८२ |खेल ब्युरो
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टिमले २१ महिनापछि दशरथ रंगशालामा खेल्दैछ । नेपालले शनिबार अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल साँझ साढे ५ बजे सुरू हुनेछ । फिफा विन्डोअन्तर्गत नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो । नेपालका मुख्य प्रशिक्षक म्याट रसले आफ्ना खेलाडीमा जितको भोक रहेको बताएका छन् । 

दुवै टिमका लागि यो खेल एएफसी एसियन कप छनौटको तयारी हो । तर प्रशिक्षक रसले, बंगलादेशसँगको खेलमा जित हात पार्नु टिमका लागि महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन् । 

यसअघि लाओससँगको खेलमा अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न नसकेकाले आज त्यो अवसर रहेको उनको भनाइ छ । एएफसी अन्डर ट्वान्टी-थ्री एसियन कप छनौटका कारण आयुष घलान टिममा छैनन् । 

स्ट्राइकर अन्जन विष्टका लागि पनि कीर्तिमान बनाउने मौका छ । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुरूष खेलाडीको कीर्तिमान नजिक छन् । अन्जनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबरी गरेका छन् । 

नेपालले बंगलादेशलाई तीन वर्षपछि घेलु मैदानमा स्वागत गर्दैछ । त्यतिबेला अन्जनकै ह्याट्रिकमा नेपाल ३-१ गोलले विजयी भएको थियो । बंगलादेशका मुख्य प्रशिक्षक ह्याभिर काबरेराले नेपालसँगको खेल कठिन हुने उल्लेख गरेका छन् । 

नेपाल र बंगलादेशको फुटबल अहिले एउटै स्तरमा रहेको उनको भनाइ छ । नेपाली टिमका कप्तान किरण चेम्जोङले, आफू बंगलादेशमा भएपनि निरन्तर प्रशिक्षकको सम्पर्कमा रहेको बताए । 

बंगलादेश कप्तान जमाल भुयानले अक्टोबरमा हुने एशियन कप छनौटका लागि नेपाल सँगको खेल महत्वपूर्ण रहेको जनाएका छन् । बंगलादेशको टिममा स्टार खेलाडी हम्जा चौधरी भने छैनन् । 

नेपालले पछिल्लो पटक दरशथ रंगशालामा २०८० मंसिर ५ गते फिफा विश्वकप र एएफसी एसियन कप छनाेटअन्तर्गत यमनसँग खेलेको थियो । सो खेलमा यमनले नेपाललाई २-० गोलले पराजित गरेको थियो । 

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । फरवार्ड भरत खबासले बंगलादेशसँगको खेलसँगै आफ्नो १७ वर्षे फुटबल करियरलाई विश्राम दिँदैछन् ।