काठमाडौं । यूएस ओपनमा इगा स्वान्तेकले इमिलियाना अरान्गोलाई हराएकी छन् । पहिलो चरणको खेलमा स्वान्तेकले ६-१ र ६-२ को सानदार जित हात पारेकी हुन् ।
पोल्यान्डकी स्टार टेनिस खेलाडी स्वान्तेक पछिल्लो एक महिनामा पुनः सानदार फर्ममा फर्किएकी हुन् । उनले जुलाईमा विम्बल्डन जित्दै १३ महिनादेखिको उपाधि खडेरी तोडेकी छन् ।
जहाँ उनले छैटौं ग्रान्डस्लाम उपाधिसमेत जितिन् । दुई साताअघि पहिलो पटक सिनसिनाटी उपाधि जित्दै उनी निरन्तर उच्च फर्ममा छिन । जुन महिनामा विश्व वरियतामा आठौँ स्थानमा झरेकी स्वान्तेक यसै हप्ताबाट पुनः दोस्रो स्थानमा फर्किएकी छन्।
फ्लसिङ मेडोमा उनले २०२२ मा उपाधि जितिसकेकी थिइन् । यस पटक पुनः यूएस ओपन जित्न सके उनले २०१२ मा सेरेना विलियम्सपछि पहिलो पटक विम्बल्डन र यूएस ओपन एउटै वर्षमा जित्ने कीर्तिमान बनाउन सक्छिन्।
साथै, उनले आरिना साबालेङ्काबाट विश्व नम्बर एक स्थान पनि पुनः फिर्ता लिन सक्ने सम्भावना छ। अब स्वान्तेकले दोस्रो चरणमा नेदरल्यान्ड्सकी ६६औं वरीयता प्राप्त सुजान लामेन्ससँग प्रतिस्पर्धा गर्नेछिन्।
लामेन्सले पहिलो चरणमा १८ वर्षीया वाइल्डकार्ड भ्यालेरीलाई ६-४ र ६-२ ले हराएकी थिइन् । गत अक्टोबरमा ओसाकामा पहिलो डब्ल्यूटीए उपाधि जितेकी लामेन्सले यस वर्ष पहिलो पटक सबै चारवटा ग्रान्डस्लामको मुख्य ड्रमा खेलेकी छन् ।