काठमाडौं । एभरेस्ट महिला भलिबल लिग इडब्लुभिएलको फ्रेन्चाइज क्लब लुम्बिनी लाभाजले विदेशी खेलाडी थप गर्दै आफ्नो टोलीलाई थप बलियो बनाएको छ। उसले मंगलबार दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
दोस्रो सिजनमा थपिएको टोली लुम्बिनी लाभाजले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको हो। उसले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुलोभालाई भित्र्याएको जानकारी दिएको हो ।
दुवै जना आउट साइडर हिटर हुन् । लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रूपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनिक गरिसकेको छ । अहिलेसम्म उसले तीन विदेशी खेलाडी जोडिसकेको छ।
विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको विश्वास क्लबले गरेको छ । उसले ट्यालेन्ट हन्टबाट पनि खेलाडी अनुबन्ध गरिसकेको छ । नेपाली महिला भलिबल टोलीका कप्तान अरूणा शाही मार्की रहेको लुम्बिनीले कमला विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिकजना माझीलाई अक्सनबाट लिएको थियो।
इभिडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।