काठमाडौं । टप एन्ड टि ट्वेन्टी सिरिज अन्तरगत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज पाकिस्तान साहिन्सको सामना गर्नेछ ।
आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागी अष्ट्रेलिया पुगेको स्टुअर्ट ल को टिमले सुरुवाती २ खेलमा निराशाजनक प्रदर्शन गरेपनि त्यससपछि सानदार पुनरागमन गरेको थियो । टिम सोही प्रदर्शनलाई निरन्तराता दिने लक्ष्यमा हुने छ ।
सुरुवाती २ हारले नेपालको सेमिफाइन पुग्ने सम्भावना लगभग समाप्त हुँदा अर्को दक्षिण एसियाली टोली पाकिस्तान साहिन्स भने बलियो अवस्थामा छ । नेपाललाई सेमिफाइनलमा पुग्न साहिन्स सगको जितसँगै अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्ने छ । तर हाल ५ वटा टिम समान ६-६ अंकमा रहँदा नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ । नेपालको ५ खेलमा ४ अंक छ । साथै कमजोर नेट रन रेट पनि नेपालका लागि समस्याको विषय बनेको छ । पाकिस्तान साहिन्सले समान खेलमा ६ अंक जोडेको छ । उ सिरिजको दोस्रो स्थानमा छ । नेपाल सातौं स्थानमा छ ।
सुरुवाती २ खेलमा स्पिनरहरुले राम्रो प्रदर्शन गरे पनि फास्ट बलिङ चल्न सकेको थिएन । पछिल्ला २ खेलमा भने नेपालको दुबै बलिङ डिपार्टमेन्ट चल्दा आफु अनुकुल नतिजा हात पार्न सफल भयो । जारी प्रतियोगितामा नेपाली ब्याटरहरुको प्रदर्शन भने औशत देखिएको छ । नेपालका लागि कुशल मल्लले सर्वाधिक १ सय ३९ रन बनाएका छन् । सन्दीप लामिछानेको नाममा ८ र सोमपाल कामी तथा नन्दन यादवको नाममा समान ६-६ विकेट रहेको छ ।
जटिल समिकरणका कारण शीर्ष चारमा स्थान बनाउन कठिन देखिए पनि नेपाल जितको ह्याट्रिक गर्ने योजनामा हुने छ । आजको खेलमा प्लेइङ इलाभेनमा परिवर्तन हुन सक्नेछ । अघिल्लो खेलमा प्रशिक्षक ल ले रोहित पौडेललाई आराम दिएपछि दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेका थिए । संदिप लामिछोने पनि खेलेका थिएनन् । डार्विन स्थित क्यालिज एरिना पाल्मर स्टोनमा खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।