संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताउनुभएकाे छ।
संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा सम्पन्न “२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम” को समापन कार्यक्रममा शुक्रवार बोल्दै उहाँले केवल परम्परागत शिक्षा पर्याप्त नहुने स्पष्ट पार्दै प्राविधिक सीप र व्यावहारिक ज्ञानबिनाको श्रम बजार प्रतिस्पर्धात्मक नहुने बताउनुभयाे।
मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको संखुवासभाले पर्यटन र प्राकृतिक स्रोतसाधनका माध्यमबाट अर्बौँ रुपैयाँ राजस्व आर्जन गर्ने सम्भावना बोकेको उल्लेख गर्नुभयाे । उहाँले निकट भविष्यमै जिल्लामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुने जानकारीसमेत दिनुभयाे ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् का सदस्य-सचिव महेश भट्टराईले तालिममार्फत सीप प्राप्त गरेका युवालाई आगामी दिनमा जलविद्युत् आयोजनामा इन्टर्नसिपका अवसर दिलाउन आग्रह गर्नुभयाे।
त्यस्तै, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला निर्माणका लागि सीपमूलक तालिमलाई नियमित र निरन्तर आवश्यक रहेको बताउनुभयाे।
तालिममा सहभागी युवाले प्राप्त ज्ञान र सीपले रोजगारीसँगै उद्यमशीलता अघि बढाउने आत्मविश्वास बढेको अनुभव सुनाउनुभयाे।