काठमाडौं । नेपालले साफ अन्डर-१७ च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ साफले बिहिबार सार्वजनिक गरेको तालिकाअनुसार, समूह 'ए' अन्तर्गत नेपालले सेप्टेम्बर १५ मा श्रीलंकाविरूद्ध उद्घाटन खेल खेल्ने छ । त्यसपछि नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका छ ।
समूह 'बी' मा साविक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका दुबै खेल २५ सेप्टेम्बर र फाइनल खेल २७ सेप्टेम्बरमा खेलिने छ ।
नेपालले हालसम्म साफ अन्डर-१७ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । नेपाल सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।