काठमाडौं । भ्रमण टोली अस्ट्रेलियाले वेस्ट इन्डिजविरूद्धको ५ खेलको टी-२० आई सिरिजमा २-० को अग्रता लिएको छ। जमैकास्थित सबिना पार्कमा बुधबार बिहान सम्पन्न दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्यो । अस्ट्रेलियाको जितमा विशेषगरी जोश इंग्लिस र क्यामरुन ग्रिनको अविजित साझेदारी निर्णायक बन्यो ।
अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो । ओपनर ब्रेन्डन किङ र शाई होपले शानदार सुरूआत दिलाउँदै पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । किङले ३६ बलमा ५१ रन बनाए भने होप ९ रनमा आउट भए ।
आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा आन्द्रे रसेलले १५ बलमा आक्रामक ३६ रन प्रहार गर्दै वेस्टइन्डिजको स्कोरलाई प्रतिस्पर्धी बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पा सबैभन्दा प्रभावशाली बलर रहे । उनले ४ ओभरमा २९ रन दिँदै ३ विकेट लिए । ग्लेन म्याक्सवेल र नाथन एलिसले समान २-२ विकेट हात पारे । सय रनको लक्ष्य १५ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
अस्ट्रेलियाले १३ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो । ओपनर म्याक्सवेलले १० बलमा १२ रन मात्र जोड्न सके । कप्तान मिचेल मार्श पनि १७ बलमा २१ रन बनाएर आउट भए । तर, त्यसपछि जोश इंग्लिस र क्यामरुन ग्रिनले टिमलाई संकटबाट बाहिर निकाल्दै तेस्रो विकेटका लागि ५९ बलमै अविजित १ सय ३१ रनको साझेदारी गरे ।
जुन अस्ट्रेलियाका लागि तेस्रो विकेटका रूपमा सबै भन्दा ठूलो साझेदारी हो । इंग्लिसले ३३ बलमा ७ चौका र ५ छक्कासहित ७८ रन बनाउँदै 'प्लेयर अफ द म्याच' बने भने ग्रिनले ३२ बलमा ५६ रनको योगदान दिए । वेस्टइन्डिजका लागि जेसज होल्डर र अल्जारी जोसेफले समान १-१ विकेट लिए ।
पहिलो टी-२० आईमा अस्ट्रेलिया ३ विकेटले विजयी भएको थियो । तेस्रो खेल शनिबार हुनेछ ।