काठमाडौं । यूएफा महिला युरो कप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति जर्मनी र स्पेन प्रतिस्पर्धा गर्दै छन् । जुरिखमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुनेछ ।
युरोको कीर्तिमानी आठ पटकको च्याम्पियन जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।
पछिल्ला दुई वर्षमा विश्वकप र नेसन्स लिग जितेको स्पेन अब युरोपियन उपाधिनजिक पुगेको छ । समूह चरणमा पोर्चुगल र बेल्जियमलाई हराएको स्पेनले अन्तिम खेलमा इटलीविरूद्ध ३-१ को जित निकाल्दै समूह 'बी' शीर्ष स्थानमा रहेर क्वार्टरफाइनल खेलेको थियो ।
स्विजरल्यान्डविरूद्धको क्वार्टरफाइनलमा २-० को जित हात पारेपछि स्पेन १९९७ पछि पहिलोपटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । हालसम्म १३ मध्ये १२ खेल जितेको स्पेन उत्कृष्ट लयमा छ । जहाँ उसले १० खेलमा कम्तिमा तीन गोल गरेको छ ।
तर जर्मनी स्पेनविरूद्ध पछिल्ला आठ खेलमा अपराजित छ । जसमा उसले ८ खेल जित्दा ३ खेल बराबरीमा सकिएका छन् । यस खेलको विजेताले उपाधिका लागि साविक विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति हुने छ ।