फिफा क्लब विश्वकप : दुई युरोपेली पावरहाउस पीएसजी र रियाल मड्रिड भिड्दै

असार २५, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप : दुई युरोपेली पावरहाउस पीएसजी र रियाल मड्रिड भिड्दै
Photo Source- Aljajeera

काठमाडौं । फिफा क्लब विश्वकप-२०२५ को दोस्रो सेमिफाइनल खेलमा बुधबार दुई युरोपेली पावरहाउस पेरिस सेन्ट जर्मेन-पीएसजी र रियाल मड्रिड प्रतिस्पर्धा गर्दै छन् । न्यू जर्सीको मेटलाइफ स्टेडियममा खेल राति पौने १ बजे सुरू हुने छ ।

पछिल्ला २ सिजनको च्याम्पियन्स लिग विजेता दुवै टोली फइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुने छन् ।

समूह चरणमा बोटाफोगोसँग पराजित भए पनि त्यसयता लुइस एनरिकेको टोली पीएसजीले लगातार तीन जितसहित क्लिन सिट राख्दै सेमिफाइनल यात्रा तय गरेको हो । बायर्न म्युनिखमाथि २-० को जित हात पार्दा नौं खेलाडीमा झरे पनि फ्रेन्च जायन्ट्सले आत्मविश्वासी प्रदर्शन गरेको थियो ।

यसअघि एट्लेटिको मड्रिडलाई ४-० ले हराएको पीएसजीले प्रतियोगिता आरम्भमै स्पेनिस विपक्षीसँगको भिडन्तमा सशक्त सन्देश दिएको थियो । फाइनलमा इन्टर मिलानलाई ५-० ले हराएर पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीले हालसम्म सबै प्रतियोगितामा १ सय ६४ गोल गरिसकेको छ । 

एनरिकेले २०१५ मा बार्सिलोनालाई क्लब विश्वकप जिताएका थिए । उनी दशकपछि पीएसजीबाट सो नतिजा दोहोर्‍याउने योजनामा छन् । रियाल अपराजित रहँदै सेमिफाइनलमा आइपुगेको हो । 

समूह चरणमा अल हिलालसँगको बराबरीपछि पाचुका र रेड बुल साल्जबर्गमाथि जित निकाल्दै शीर्ष स्थान हासिल गरेको रियालले नकआउटमा युभेन्टस र डर्टमुन्डलाई पराजित गरेको थियो ।

यस भिडन्तको विजेताले उपाधिका लागि आइतबार इंग्लिस टोली चेल्सीको सानमा गर्नेछ ।