क्लब विश्वकप : पहिलो सेमिफाइनलमा फ्लुमिनेन्स र चेल्सीबीच प्रतिस्पर्धा हुँदै

असार २४, २०८२ |खेल ब्युरो
क्लब विश्वकप : पहिलो सेमिफाइनलमा फ्लुमिनेन्स र चेल्सीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा आज राति फ्लुमिनेन्स र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको न्यु जर्सीस्थित ८२ हजार ५ सय दर्शक क्षमताको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ ।

फ्लुमिनेन्स र चेल्सी पहिलो पटक आमनेसामने हुन लागेका हुन् । ब्राजिलियन क्लब फ्लुमिनेन्स दक्षिण अमेरिकी फुटबलको सान जोगाउने लक्ष्यसहित मैदान उत्रिँदा युरोपेली दाबेदार चेल्सी पनि उपाधिनजिक पुग्ने योजनामा हुनेछ ।

सन् २०२३ को कोपा लिबर्टाडोरेस विजेता फ्लुमिनेन्स समूह चरणमा अपराजित थियो । नकआउट चरणमा इन्टर मिलानलाई २-० र अल हिलाललाई २-१ ले पराजित गरेको थियो । बलियो मानिएका टोलीलाई हराउँदै फ्लुमिनेन्सले आफूलाई अब्बल साबित गरिसकेको छ । फ्लुमिनेन्स ११ खेलदेखि अपराजित छ । जर्मन क्यानो, हर्कुलस र आरियास उसका मुख्य खेलाडी हुन् । चेल्सीका पूर्व डिफेन्डर थिएगो सिल्भा अहिले फ्लुमिनेन्सेका कप्तान छन् । फ्रेटेस र मार्टिनेलीले निलम्बनका कारण यो खेल गुमाउनेछन् ।

अर्कोतर्फ, इंग्लिस क्लब चेल्सी पनि आत्मविश्वासी देखिएको छ । समूह 'डी' बाट दोस्रो हुँदै नकआउट चरण प्रवेश गरेको चेल्सीले बेन्फिकालाई ४-१ ले र पाल्मेरिसलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

चेल्सीले पछिल्ला १४ मध्ये १२ खेल जितेको छ । उसले ६ पटक क्लिनसिट राखेको छ । पेद्रो नेटोले ३ गोल गरेका छन् । मोइसेस काइसिडो निलम्बनपछि यस खेलमा फर्किँदैछन् । डेलाप र कोलविल भने प्रतिबन्धमा छन् । चेल्सीले सन् २००० पछि ३८ वटा ठूला सेमिफाइनल खेलिसकेको छ र २६ पटक फाइनल पुगेको छ ।

यो खेलको विजेताले आइतबार राति यसै मैदानमा उपाधिका लागि पेरिस सेन्ट जर्मेन वा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।