काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
युवा तथा खेककुद मन्त्रालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गत कात्तिक ७ देखि १२ गतेसम्म जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई ६५ लाख रूपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौं एसियन कबड्डी च्याम्पियनअन्तर्गत महिलातर्फ कास्य पदक विजेता खेलाडीलाई १ लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।
यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलंकामा भएको काभा अन्डर-ट्वेन्टी पुरूष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडीलाई तीन लाखका दरले पुरस्कार दिइएको छ ।
पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।
साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल टोलीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै बधाई दिनुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।