महिला फुटबल विवाद : दोषजति प्रशिक्षक प्याट्रिक डी वाइल्डमाथि

असार २५, २०८२ |खेल ब्युरो
महिला फुटबल विवाद : दोषजति प्रशिक्षक प्याट्रिक डी वाइल्डमाथि
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन पक्षले अन्तिम समयमा कप्तानको जिम्मेवारी तोकिएको विषयसहित उज्बेकिस्तान भ्रमणका दौरान उत्पन्न विवादको सबै दोष प्रशिक्षक प्याट्रिक डी वाइल्डमाथि थुपारेको छ ।अखिल नेपाल फुटबल संघ-एन्फाद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रशिक्षक डी वाइल्डको असहयोगका कारण विवाद चुलिएको बताइन् । श्रेष्ठले टोली उज्बेकिस्तान प्रस्थान गर्नुअघि नै कप्तान तोक्न आग्रह गर्दा प्रशिक्षक डी वाइल्डले नमानेको र उज्बेकिस्तान पुगेपछि पनि कप्तानबारे निर्णय गर्न आलटाल गरेको आरोप लगाइन् ।

टोली मैदान जानुअघिसम्म पनि प्रशिक्षकले कप्तानबारे निर्णय नदिएपछि सिनियर खेलाडीका रूपमा रेनुका नगरकोटेलाई कप्तान बनाएर टिम लिस्ट एएफसीमा पठाएको उनको जिकिर छ ।

पत्रकार सम्मेलनमा उपस्थित टेक्निकल डाइरेक्टर हरि खड्का, टिम व्यास्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङ लगायतले समेत डे वाइल्डकै कमजोरीका कारण विवाद उत्पन्न भएको भन्दै टिम व्यवस्थापनको बचाउ गरे ।

एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको नेपालको १ सयौं अन्तर्राष्ट्रिय खेलअघि कप्तान तोक्ने विषयलाई लिएर मुख्य प्रशिक्षक डी वाइल्ड र टिम व्यवस्थापनबीच विवाद उत्पन्न भएको थियो । विवादपछि प्रशिक्षक डी वाइल्डले एन्फामा पत्राचार गरेको बताएका थिए ।

समूह एफको अन्तिम तथा निर्णायक खेलमा नेपाल घरेलु टोली उज्बेस्तिानसँग पेनाल्टीमा पराजित भएपछि एसियन कपमा छनोट हुन असफल भएको थियो । प्रतियोगितापछि स्वदेश फर्किएका बेल्जियन प्रशिक्षकले एन्फा नसुध्रिए नेपाल नफर्किने चेतावनी दिएका छन् । प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको खोजीमा रहेको एन्फाले गत जेठ २२ गते डी वाइल्डलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।