काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युक्रेनलाई थप रक्षात्मक हतियार पठाउने कुरालाई आफूले स्वीकृति दिएको र मस्कोमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताउनुभएको छ ।
साथै उहाँले रुस-युक्रेन युद्धमा हजारौं सैनिकले ज्यान गुमाइरहेको भन्दै रूसी राष्ट्रपति पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रपति पदको उम्मेदवार हुँदा आफूले जितेको अवस्थामा एक दिनभित्रै रूस युक्रेन युद्ध अन्त्य गराउने दाबी गर्नुभएका ट्रम्पले अस्थायी युद्धविरामसमेत गराउन सक्नुभएको छैन ।
मंगलवारको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले पुटिनप्रति आक्रोश व्यक्त गर्नुभएको हो । बैठकमा ट्रम्पले आफू पुटिनसँग खुशी नभएको बताउनुभएको थियो । पुटिनले धेरै राम्रो कुरा गर्ने गरेपनि अन्त्यमा ती सबै अर्थहीन हुने गरेको ट्रम्पको भनाइ थियो ।
बैठकमा ट्रम्पले रुसमाथि कठोर प्रतिबन्ध लगाउनेसम्बन्धी सिनेटमा विचाराधीन विधेयकको समर्थन गर्ने विषयमा सोचिरहेको समेत जानकारी गराउनुभएको थियो । उक्त विधेयकमा रूससँग तेल, ग्यास, युरेनियम र अन्य वस्तु खरिद गर्ने देशमाथि ५ सय प्रतिशत आयात कर लगाउने लगायतका प्रावधान राखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई युद्धविरामका लागि सहमति गराउन मस्कोमाथि थप कडा प्रतिबन्ध लगाउन पश्चिमा मित्र राष्ट्रहरुलाई आह्वान गर्दै आउनुभएको छ।
गत साता अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई केही महत्वपूर्ण हतियारको आपूर्ति स्थगित गर्ने निर्णय गरेपछि किएभले यसले रुसी आक्रमणबाट आफनो प्रतिरक्षा गर्ने क्षमतालाई कमजोर पार्ने चेतावनी दिएको थियो ।