काठमाडौं । पूर्व विश्व नम्बर एक इगा स्वान्तेक विम्बलडनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
स्वान्तेकले डेनमार्ककी क्लारा ताउसनलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८को यात्रा तय गरेकी हुन् । दोस्रोपटक विम्बलडनको क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्वान्तेकले ६-४ र ६-१ को नतिजा हात पारिन् ।
खेलको सुरूआतमा सर्भमा कमजोरी देखिए पनि स्वान्तेकले तेस्रोपटक ताउसनमाथि जित निकालिन् । उनले १८ विनर प्रहार गर्दै पाँचपटक विपक्षीको सर्भ ब्रेक गरेकी थिइन् ।
ताउसनले अघिल्लो चरणमा पूर्व च्याम्पियन एलेना राइबाकिनालाई हराएकी थिइन् । तर स्वान्तेकसँगको खेलमा मेडिकल टाइमआउट लिनु परेको थियो ।
स्वान्तेक पछिल्लो पटक चारै ग्रान्डस्ल्याममा कम्तीमा क्वार्टरफाइनल पुगेकी छिन् । करियरको १२औं मेजर क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।