मधेशमा सुक्खा, सिँचाइ अभावमा आधा पनि भएन रोपाइँ

असार २४, २०८२ |अनिल मिश्र
मधेशमा सुक्खा, सिँचाइ अभावमा आधा पनि भएन रोपाइँ

जनकपुरधाम । मुलुकमै सबैभन्दा बढी धान फल्ने मधेश प्रदेशमा खेतीका लागि चाहिने बेलामै पानी नै परेको छैन । यसले गर्दा रोपाइँ पनि हुन सकेको छैन । पानीको वैकल्पिक व्यवस्था भएका केही ठाउँमा रोपाइँ भए पनि राम्ररी सर्न नपाएको धान अत्यधिक गर्मीले सुक्न थालेको छ ।

धनुषा घोडघासका ६५ वर्षीय शिवलाल ठाकुर धान रोप्न नपाएर चिन्तामा हुनुहुन्छ । आकासबाट पानी पर्ने कुनै छाँटकाँट नदेखेपछि उहाँ प्रति घण्टा ४ सय रुपैयाँ तिरेर पम्पसेटबाट खेतमा पानी पटाउन बाध्य हुनुभएको छ । साढे दुई बिघा जग्गाका मालिक शिवलाललाई रोपाइँ गर्न सकिएन भने वर्षभरि परिवारको गुजारा कसरी चलाउने भन्ने पिरलो छ ।

असार सकिनै लाग्दा पनि मधेश प्रदेशका अधिकांश किसानले पानी नपर्दा रोपाइँ गर्नसकेका छैनन् । गत वर्ष मधेशमा असारमा ४५ प्रतिशत रोपाइँ सकिइसकेको थियो । तर यस वर्ष हालसम्म २५ प्रतिशत मात्रै भएको छ । पर्याप्त पानी नपरेको र टन्टलापुर घामका कारण जसोतसो राखेको धानका बेर्ना पनि सुक्नथालेको छ ।

मधेश प्रदेशमा ३ लाख ८६ हजार १ सय ५० हेक्टर धान खेती योग्य जमिन छ । तर, प्रदेशको कृषि विकास निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार असार २२ गतेसम्म ९३ हजार ४ सय ६८ हेक्टरमा मात्र रोपाइँ भएको छ । सबैभन्दा बढी पर्सामा झण्डै ६२ प्रतिशत र सब भन्दा कम महोत्तरीमा ९ दशमलव ४१ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ । त्यसैगरि रौतहटमा ४०, सर्लाहीमा ३०, सिरहामा २५, बारामा झण्डै २२, धनुषामा १७ र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको छ । सिँचाइ सुविधा नहुँदा र अकासेपानीको भर पर्दा प्रत्येक वर्ष यो समस्या दोहोरिन्छ ।

मधेशका आठै जिल्लामा गएको वर्ष मनसुन सक्रिय पनि भएको र मलखाद सहजरूपमा पाएपछि ३ लाख ७५ हजार ६ सय १४ हेक्टरमा अर्थात ९७ दशमलव २७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष असार बित्न लागेपनि सिँचाइ सुविधा नभएका खेतमा धुलो उडिरहेको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।