काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को छनोटअन्तर्गत समूह 'एफ' को अन्तिम खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
उज्बेकिस्तानको तासकन्दमा खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरू हुनेछ । यो खेलको विजेताले अष्ट्रेलियामा सन् २०२६ मा हुने एसियन कपमा स्थान बनाउने छ भने पराजित हुने टोली बाहिरिनेछ। त्यस कारण दुई टोलीका लागि यो निर्णायक भिडन्त हुनेछ ।
दुवै टोलीले अहिलेसम्म २ खेलमा समान ६ अंक जोड्दा १७-१७ गोल गरेका छन् र दुबै खेलमा क्लिनसिटसहित उत्कृष्ट प्रदर्शन गरेका छन् । जसले गर्दा अन्तिम खेल फाइनल सरह बनेको छ । यदी खेल बराबरी भएमा एएफसीको नियमअनुसार सिधा पेनाल्टी सुटआउट हुनेछ ।
नेपालका लागि कप्तान सावित्रा भण्डारीले दुई खेलमा २ हृयाट्रिकसहित ८ गोल गरिसकेकी छन् । मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको नयाँ रणनीतिअन्तर्गत टोलीले फरक शैलीमा खेलेको छ ।
उज्बेकिस्तानविरूद्ध नेपालको विगतको प्रदर्शन भने कमजोर रहेको छ। दुई टोलीबीच खेलिएका ३ वटै खेलमा नेपाल पराजित भएको छ । तर अहिलेको आत्मविश्वास, खेलाडीहरूको लय र रणनीतिक स्पष्टताले नेपाललाई जितको दावेदार बनाएको छ ।
नेपाली टोली पाँच पटक एसियन कप खेलेको उज्बेकिस्तानलाई पराजित गर्दै २६ वर्षपछि तियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।