काठमाडौं । महिला युरो कपअन्तर्गत समूह ए को खेलमा फिनल्यान्डले दश खेलाडीमा समेटिएको आइसल्यान्डमाथि एक- शून्य गोलको जीत हात पार्यो ।
स्टकहर्न अरिनामा गएराति भएको खेलको पहिलो हाफमा दुवै टिमले गोलका लागि संघर्ष गरेका थिए । १६ औं मिनेटमा क्याटारिना कोसोलाको प्रहारलाई विपक्षी गोलकिपरले बचाएकी थिइन् । २७ औं मिनेटमा आइसल्यान्डले पनि गोलको अवसर सिर्जना गर्यो । तर सफल भएन । ५७ औं मिनेटमा फिनल्यान्डले गोल गर्न सक्थ्यो । तर यो पटक पनि फाइनल टच दिन सकेन ।
५८ औं मिनेटमा आइसलयान्ड दश खेलाडीमा झर्यो । हिल्डर दोहोरो पंहेलो कार्ड पाउँदै मैदान बाहिरिएकी हुन् । जसको मूल्य आइसल्यान्डले चुकायो । ७० औं मिनेटमा कोसलाले गोल गर्दै फिनल्यान्डलाई अग्रता दिलाइन् । यही गोल नै फिनल्यान्डको जीतमा निर्णायक बन्यो । यो खेल अघिसम्म फिनल्यान्ड युरो फाइनल चरणमा आठ खेल सम्म जीतविहीन थियो । युरोको आफ्नो पहिलो खेलमा फिनल्यान्डले जीत हात पारेको यो केवल दोस्रो पटक हो । आइसल्यान्ड र फिनल्यान्ड युरो फाइनल प्रतियोगितामा पहिलो पटक आमने सामने भएका हुन् । फिनल्यान्ड ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।