चेल्सी फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश

असार ११, २०८२ |खेल ब्युरो
चेल्सी फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न समूह 'डी' को अन्तिम खेलमा ट्युनिसियाली क्लब एस्पेरान्स डि ट्युनिसलाई ३-० ले हराउँदै चेल्सीले नकआउट चरणको यात्रा पक्का गरेको हो ।

चेल्सीका लागि टोसिन अदाराबायो, लियाम डेलाप र अन्त्यतिर टाइरिक जर्जले गोल गरे । पाल्मर र रोबर्ट सान्चेज जस्ता प्रमुख खेलाडीलाई विश्राम दिएर प्रशिक्षक एन्जो मारेस्काले रोटेसनको रणनीति अपनाएका थिए । गत शुक्रबार फ्लामेङ्गोसँगको ३-१ को हारमा रातो कार्ड पाएका निकोलास ज्याक्सन यस खेलमा अनुपस्थित रहे ।

३० मिलियन पाउण्डमा इप्सबीचबाट अनुबन्ध गरिएका डेलापले २०औं मिनेटमै हेडमार्फत् अग्रता दिलाउने अवसर गुमाए । चेल्सीले पहिलो हाफमा बल नियन्त्रणमा राखे पनि रचनात्मकता देखाउन सकेन ।

तर पहिलो हाफको थपिएको समयमा अदाराबायोको हेडरले जाल चुमेपछि चेल्सीले अग्रता बनायो । त्यसको केही सेकेन्डमै डेलापले अर्को मौका सदुपयोग गर्दै २-० को अग्रता बनाए ।

दोस्रो हाफमा चेल्सीले रक्षा मजबुत राख्दै खेलमा पूर्ण नियन्त्रण राख्यो । एस्पेरान्सले खास अवसर सिर्जना गर्न सकेन । इन्जुरी समयमा टाइरिक जर्जले बक्सको छेउबाट उत्कृष्ट गोल गर्दै स्कोरलाइन ३-० बनाए ।

यस समूहमा ब्राजिलियन क्लब फ्लामेङ्गो सात अंकसहित शीर्षस्थानमा रह्यो । अन्तिम खेलमा उसले एमएलएस क्लब लस एञ्जलस एफसीसँग १-१ को बराबरी खेल्यो । चेल्सी ६ अंकसहित दोस्रो स्थानमा रहँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अब नकआउट चरणमा चेल्सीले शनिबार समूह 'सी' को विजेता बेन्फिकासँग खेल्ने छ भने फ्लामेङ्गोले आइतबार समूह 'सी' को उपविजेता बायर्न म्युनिखको सामना गर्नेछ ।